राप्तीसोनारीका विद्यालय वरपर सुर्तीजन्य पदार्थ र मदिरा बिक्रीमा रोक, वडा नं. ६ को कडा निर्णय

Author Logo..
२०८३ जेष्ठ २७ गते बुधवार

राप्तीसोनारी, जेठ २७  विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षित भविष्यलाई प्राथमिकतामा राख्दै लवराज खरेल नेतृत्वको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ ले विद्यालय वरपर सुर्तीजन्य पदार्थ तथा मदिराजन्य वस्तु बिक्रीवितरणमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

वडाले जारी गरेको निर्देशनअनुसार अब वडाभित्र रहेका सबै विद्यालयहरूको १०० मिटर क्षेत्रभित्र चुरोट, सुर्ती, गुट्खा तथा मदिरा बिक्री गर्न पाइने छैन । उक्त क्षेत्रमा रहेका किराना पसल, होटल तथा अन्य व्यवसायलाई तत्काल प्रभावबाट उक्त वस्तु नबेच्न कडा निर्देशन दिइएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष खरेलका अनुसार विद्यालयलाई ‘धूम्रपान, सुर्ती र मदिरामुक्त क्षेत्र’ बनाउने उद्देश्यसहित यो निर्णय कार्यान्वयनमा ल्याइएको हो । विद्यार्थीहरू सानै उमेरदेखि कुलतमा फस्ने जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको उनले बताए । ‘बालबालिकाको भविष्य सुरक्षित राख्नु हाम्रो पहिलो दायित्व हो । विद्यालय वरपरको वातावरण नै सुधार नगरेसम्म गुणस्तरीय शिक्षा सम्भव हुँदैन,’ खरेलले बताए ।

निर्णय कार्यान्वयनका लागि वडा कार्यालयले स्थानीय प्रहरी प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र टोल विकास संस्थासँग समन्वय गर्ने जनाएको छ । नियम उल्लङ्घन गर्ने व्यवसायीलाई पहिलो चरणमा सचेत गराइने र पुनः दोहोरिएमा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ । स्थानीय अभिभावक तथा शिक्षकहरूले वडाको यो निर्णयलाई सकारात्मक रूपमा लिएका छन् । उनीहरूका अनुसार विद्यालय वरपर सहजै चुरोट र सुर्तीजन्य पदार्थ उपलब्ध हुँदा विद्यार्थीहरूमा कुलत बढ्ने खतरा रहेको थियो । अब यस्तो नियन्त्रणले विद्यार्थीको अनुशासन र स्वास्थ्य दुवैमा सुधार आउने अपेक्षा गरिएको छ ।

त्यस्तै, वडा कार्यालयले शैक्षिक वातावरण सुधारसँगै विद्यार्थीको स्वास्थ्यलाई लक्षित गर्दै अन्य सामाजिक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । सोही अन्तर्गत गत आर्थिक वर्षमा विनियोजित वडाको बजेटबाट वडा नं. ६ भित्र रहेका नौवटा विद्यालयमा चिसो पानीका मेसिन (वाटर कूलर) वितरण गरिएको छ । वडाध्यक्ष खरेलका अनुसार गर्मी मौसममा विद्यार्थीहरूलाई शुद्ध र चिसो पानी उपलब्ध गराउने उद्देश्यले उक्त योजना लागू गरिएको हो । विद्यालयहरूमा आधारभूत सुविधा विस्तार गर्दै स्वस्थ र सुरक्षित शैक्षिक वातावरण निर्माण गर्नु वडा कार्यालयको दीर्घकालीन लक्ष्य रहेको उनले बताए ।

वडा कार्यालयको यो कदमले स्थानीय तहमा स्वास्थ्य–मैत्री शिक्षा वातावरण निर्माणतर्फ महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ । अभिभावक, शिक्षक र विद्यार्थी सबैले यसलाई दीर्घकालीन रूपमा प्रभावकारी निर्णयका रूपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार