बाँके, जेठ २६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशमा सञ्चालन गरिरहेको जिल्ला अधिवेशनहरू आन्तरिक विवाद, प्रक्रियागत असहमतिहरू र व्यवस्थापकीय कमजोरीका कारण प्रभावित बनेका छन् । प्रदेशका आठवटै जिल्लामा अधिवेशन प्रक्रिया अघि बढे पनि कुनै पनि जिल्लामा नेतृत्व चयन टुंगोमा पुग्न सकेको छैन ।
मधेशका विभिन्न जिल्लामा देखिएको असहमति र विवादका कारण अधिवेशनहरू या त स्थगित भएका छन् वा अनिश्चित बनेका छन् । संगठन विस्तार र संरचना सुदृढीकरणको उद्देश्यसहित अघि बढाइएको अधिवेशन अभियानमै समस्या देखिएपछि पार्टीभित्रको आन्तरिक व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ । महोत्तरीमा शनिबार जलेश्वरमा सुरु भएको जिल्ला अधिवेशन दोस्रो दिनमै विवादका कारण अनिश्चितकालका लागि रोकिएको छ । बन्दसत्रमा प्रतिनिधिहरूबीच सहमति जुट्न नसकेपछि निर्वाचन संयोजकले अर्को सूचना जारी नभएसम्म प्रक्रिया स्थगित गरिएको जानकारी दिएका छन् । प्रतिनिधिहरूबीचको मतभेदसँगै सुरक्षासम्बन्धी अवस्थालाई समेत कारण देखाइएको छ ।
धनुषामा पनि अधिवेशन प्रक्रिया सहज बन्न सकेको छैन । जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवमाथि एक समूहले एकलौटी निर्णय गरेको आरोप लगाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । यसअघि पालिका तहका अधिवेशनका क्रममा समेत विवाद चर्किँदा हातपातको अवस्था सिर्जना भएको थियो । जिल्लास्तरीय अधिवेशनको औपचारिक मिति भने अझै अनिश्चित रहेको बताइएको छ । सर्लाहीमा भने फरक प्रकारको समस्या देखिएको छ । मतदाता नामावली अद्यावधिक नहुनु, पालिका अधिवेशनका कागजात अपूर्ण हुनु तथा निर्वाचित प्रतिनिधिहरूको विवरण डिजिटल प्रणालीमा प्रविष्ट नभएकाले जिल्ला अधिवेशन रोकिएको हो । निर्वाचन संयोजकका अनुसार आवश्यक तथ्यांक व्यवस्थापनमै समस्या देखिएपछि प्रक्रिया अघि बढाउन नसकिएको हो ।
यस्तै रौतहट, बारा र पर्सामा पनि नेतृत्व चयन तथा प्रतिनिधित्वसम्बन्धी विवादले अधिवेशन प्रक्रिया अवरुद्ध भएको छ । केही जिल्लामा प्रतिनिधि छनोटमै असहमति देखिँदा प्रक्रिया अघि बढ्न सकेको छैन भने केही स्थानमा आन्तरिक छलफलमै कुरा अड्किएको छ । सिरहामा २४ जेठमै सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनमार्फत समिति गठन गर्ने तयारी गरिएको थियो । तर अन्तिम चरणमा पुगेको प्रक्रिया पनि विवादका कारण रोकिएको छ ।
प्रदेश अधिवेशन नजिकिँदै गर्दा जिल्ला अधिवेशन टुंग्याउनुपर्ने दबाब बढिरहेको छ । मधेश प्रदेशमा जेठ २८ गते प्रदेश अधिवेशन तय गरिएको भए पनि अधिकांश जिल्लामा नेतृत्व चयन नै नटुंगिएकाले समयमै प्रक्रिया सम्पन्न हुनेमा संशय देखिएको छ । रास्वपा मधेश प्रदेश संगठन विभागका उपप्रमुखका अनुसार जेठ २६ भित्र सम्पन्न हुनुपर्ने अधिकांश जिल्ला अधिवेशन अझै अधुरै छन् । उनका अनुसार प्रदेशका १३६ पालिकामध्ये करिब १२० पालिकामा मात्र अधिवेशन सम्पन्न भएको छ ।
संगठन विस्तारलाई तीव्र बनाउने लक्ष्यसहित अघि बढाइएको अभियानमै विवाद, असन्तुष्टि र व्यवस्थापकीय कमजोरी देखिन थालेपछि मधेश प्रदेशमा रास्वपाको आन्तरिक संरचना निर्माण प्रक्रिया चुनौतीपूर्ण बन्दै गएको विश्लेषण गरिएको छ ।