
दाङ । दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बिहान करिब ४ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१२प ९८४० नम्बरको मोटरसाइकल सडकको बायाँ किनारमा पार्किङ गरी राखिएको ना५ख ९३३६ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–७ हस्नापुर निवासी ३८ वर्षीय जीवन गिरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन् । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको छ ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको दाङ प्रहरीले जनाएको छ ।