
काठमाडौं । मालीबाट इद-अल-अधा पर्व मनाएर घर फर्किरहेका यात्रु बोकेको ट्रक सहारा मरुभूमिको बीचभागमा बिग्रिँदा तिर्खा र जलवियोजनका कारण कम्तीमा ४९ नाइजेरियाली नागरिकको मृत्यु भएको छ। उत्तरी नाइजरको विकट मरुभूमि क्षेत्रमा भएको उक्त घटनामा केवल दुई जना मात्र जीवित उद्धार भएका छन्।
छिमेकी देश मालीमा आयोजित मुस्लिम पर्व (इद-अल-अधा) मा सहभागी भई आफ्नो परिवारसँग खुसी मनाउन घर फर्कँदै गरेका यात्रुहरू सवार उक्त ट्रक मरुभूमिको बीचभागमा बिग्रिएपछि यो विपद् निम्तिएको हो। नाइजरको अगादेज क्षेत्रीय प्रशासनले आधिकारिक वक्तव्य जारी गर्दै घटनाको पुष्टि गरेको छ।
अगादेज गभर्नोरेटका अनुसार दुर्घटना नाइजर र अल्जेरियाको सीमा नजिकै पर्ने मुख्य नाका ‘असामाका’ भन्दा करिब ८० किलोमिटर पश्चिमको दुर्गम मरुभूमि क्षेत्रमा भएको हो। अत्यधिक गर्मी र खानेपानीको अभाव रहेको उक्त क्षेत्रमा चालक, उनका सहयोगी तथा यात्रुहरूले ट्रक मर्मत गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्।
पानीको मौज्दात सकिँदै जाँदा यात्रुहरू सहाराको चर्को गर्मीमा शिथिल बन्दै गएका थिए। उद्धार टोली घटनास्थल पुग्दा ट्रक वरिपरि तथा घामबाट जोगिन ट्रकमुनि ओत लागेका दर्जनौँ शव फेला परेका थिए।
घटनाबाट जीवित बचेका दुई पुरुष तिर्खाले व्याकुल अवस्थामा करिब ५० किलोमिटरभन्दा बढी पैदल हिँडेर पानीको स्रोतसम्म पुगेका थिए। त्यसपछि उनीहरू असामाका सहरमा पुगेर स्थानीय अधिकारीलाई घटनाबारे जानकारी दिएका थिए।
उनीहरूको सूचनाका आधारमा गभर्नर जनरल इब्रा बौलामा इसाको नेतृत्वमा गएको उद्धार टोलीले घटनास्थलमै मृतकहरूको सामूहिक रूपमा अन्त्येष्टि गरेको जनाएको छ।
अफ्रिकी मुलुकहरूबाट युरोपतर्फ जाने आप्रवासी तथा स्थानीय यात्रुहरूले प्रयोग गर्ने यो मार्ग अत्यन्त जोखिमपूर्ण मानिन्छ। सहारा मरुभूमिमा अत्यधिक तापक्रम र पानीको अभावका कारण सामान्य प्राविधिक समस्या पनि घातक दुर्घटनामा परिणत हुने गरेको बताइएको छ।