सुकुम्बासीहरूको भनाइअनुसार बस्ती हटाइएको लामो समय बितिसक्दा पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अघि नबढ्दा उनीहरू असुरक्षित र अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । प्रभावित परिवारहरूले बसोबासको सुनिश्चित व्यवस्था, पुनःस्थापना तथा जीवनयापनका आधारभूत अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

कोहलपुर, जेठ २४ कोहलपुर नगरपालिका–११ शान्तिनगरका अव्यवस्थित तथा सुकुम्बासी परिवारहरूले दीर्घकालीन व्यवस्थापनको माग गर्दै आफूहरू बसेकै पुरानो स्थानमा फर्केर त्रिपाल टाँगेर बस्न बाध्य हुने चेतावनी दिएका छन् । नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा खाली गराउने क्रममा केही समयअघि शान्तिनगरस्थित सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरू समस्यामा परेको भन्दै उनीहरूले राज्य र स्थानीय सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका हुन् ।
शनिबार कोहलपुरस्थित क्रिकेट मैदानमा आयोजित भेलामा १२० जनाभन्दा बढी प्रभावित सुकुम्बासी सहभागी भएका थिए । भेलाले वीरबहादुर परियारको संयोजकत्वमा आठ सदस्यीय संघर्ष समिति गठन गर्दै आफ्ना मागहरू सम्बन्धित निकायसमक्ष राख्ने निर्णय गरेको छ । संघर्ष समितिका संयोजक वीरबहादुर परियारले बस्ती हटाइएपछि वास्तविक सुकुम्बासीमध्ये केहीलाई होल्डिङ सेन्टरमा राखिएको भए पनि धेरै परिवार अझै व्यवस्थापनविहीन अवस्थामा रहेको बताए । उनका अनुसार घरजग्गा भएका व्यक्तिहरू आआफ्नो व्यवस्थापन गरेर अन्यत्र बसाइँ सरेका छन्, तर वास्तविकरूपमा भूमिहीन र सुकुम्बासी रहेका परिवार अहिले निकै कठिन अवस्थामा जीवनयापन गर्न बाध्य छन् ।
‘न हाम्रो आफ्नै घरजग्गा छ, न त सबैलाई होल्डिङ सेन्टरमा राखिएको छ,’ उनले भने, ‘हामीमध्ये धेरैजना अहिले महँगो भाडा तिरेर बस्न बाध्य छौं । आम्दानीको स्रोत कमजोर भएकाले दैनिक जीवन चलाउनै समस्या भइरहेको छ ।’ उनका अनुसार प्रभावित परिवारले विभिन्न स्थानमा कोठा खोजे पनि सहजरूपमा बस्न पाएका छैनन् । कतिपय घरधनीले कोठा दिन नमानेको र कोठा पाए पनि अत्यधिक भाडा तिर्नुपर्ने अवस्था रहेको उनले बताए ।
प्रभावितमध्येकी रुपा परियारले बस्ती हटाइएपछि आफ्नो परिवारको जीवन निकै कष्टकर बनेको बताइन् । ‘पहिला आफ्नै झुपडी भए पनि बस्ने ठाउँ थियो । अहिले कोठा खोज्दै हिँड्नुपरेको छ,’ उनले भनिन्, ‘जसोतसो जस्तापाता राखेर बस्न खोज्दा पनि महँगो भाडा तिर्नुपरेको छ । कमाइ कम छ, खर्च धान्न सकिएको छैन ।’ त्यस्तै कमला परियारले पनि राज्यले आफूहरूको बसोबासको व्यवस्था गर्न नसके अब पुरानै ठाउँमा फर्किनुको विकल्प नरहेको बताइन् । ‘हामीलाई कि बस्ने व्यवस्था गरियोस्, नत्र घर भत्काइएको ठाउँमै त्रिपाल टाँगेर बस्न बाध्य हुन्छौं,’ उनले भनिन्, ‘हामीसँग अर्को विकल्प छैन ।’
संघर्ष समितिले पहिलो चरणमा कोहलपुर नगरपालिका र बाँकेका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने निर्णय गरेको छ । छलफलबाट समस्या समाधानको ठोस पहल नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समितिले जनाएको छ । संयोजक परियारका अनुसार प्रभावित परिवारहरू न्याय र पुनःस्थापनाको माग गर्दै आवश्यक परे धर्ना, प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गर्ने तयारीमा छन् । ‘हामी शान्तिपूर्ण रूपमा आफ्नो समस्या राख्न चाहन्छौं,’ उनले भने, ‘तर लामो समयसम्म बेवास्ता गरिए हामी थप संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछौं ।’
सुकुम्बासीहरूको भनाइअनुसार बस्ती हटाइएको लामो समय बितिसक्दा पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अघि नबढ्दा उनीहरू असुरक्षित र अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । प्रभावित परिवारहरूले बसोबासको सुनिश्चित व्यवस्था, पुनःस्थापना तथा जीवनयापनका आधारभूत अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।