अत्यधिक गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द

Author Logo..
२०८३ जेष्ठ २४ गते आइतवार

कोहलपुर, जेठ २४ — अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख रबिलाल मिजारका अनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म सबै विद्यालयहरू बन्द रहनेछन्।

नगरपालिकाले बढ्दो तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको जनाएको छ। मौसममा तत्काल सुधार आउने संकेत नदेखिएको र तापक्रम निरन्तर वृद्धि भइरहेकाले बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख मिजारले बताए।

प्रचण्ड गर्मीका कारण कोहलपुर क्षेत्रको जनजीवनसमेत प्रभावित बनेको छ। दिउँसोका समयमा सडकहरू सुनसान देखिन थालेका छन् भने बजार क्षेत्रको चहलपहलमा समेत कमी आएको छ। तातो घाम र लु चल्ने जोखिम बढेसँगै सर्वसाधारण सकेसम्म घरभित्रै बस्न बाध्य भएका छन्।

स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई बढी असर पार्न सक्ने चेतावनी दिएका छन्। उनीहरूले पर्याप्त मात्रामा पानी पिउन, अत्यावश्यक कामबाहेक घाममा ननिस्कन तथा गर्मीबाट बच्ने उपायहरू अपनाउन आग्रह गरेका छन्।

नगरपालिकाले हालका लागि तीन दिन बिदा घोषणा गरे पनि मौसम तथा तापक्रमको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ। आवश्यकता अनुसार आगामी दिनमा बिदाको अवधि थप गर्न सकिने सम्भावना समेत रहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार