पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न

Author Logo..
२०८३ जेष्ठ १५ गते शुक्रवार

राप्तीसोनारी, जेठ १५  राप्तीसोनारी गाउँपालिका–८ मा सञ्चालन गरिएको तीन दिने निःशुल्क पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ परीक्षण तथा सामाजिक सुरक्षा परामर्श शिविर सम्पन्न भएको छ । स्वास्थ्य तथा शिक्षा विकास केन्द्र बाँकेको आयोजनामा भएको शिविर वडा नम्बर ८ र नेपाल परिवार नियोजन संघ बाँकेको समन्वयमा सञ्चालन गरिएको हो ।

कार्यक्रमलाई अमेरिकन हिमालयन फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो । महिलाको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसँगै विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालन भएको शिविरमा १५५ जनाले सामाजिक सुरक्षा सम्बन्धी परामर्श सेवा लिएका थिए । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणअर्थात् पाठेघरको मुखको एसिटिक एसिडद्वारा गरिने परीक्षणमार्फत १२१ महिलाको पाठेघरको मुख परीक्षण गरिएको थियो । परीक्षणका क्रममा २ जनामा शंकास्पद अवस्था देखिएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । उनीहरूलाई थप उपचार तथा विस्तृत परीक्षणका लागि सिफारिस गरिएको स्वास्थ्य तथा शिक्षा विकास केन्द्र बाँकेकी सदस्य सरस्वती बस्नेतले बताइन् ।

त्यस्तै, यौन संक्रमणसम्बन्धी रोगको पहिचान तथा उपचार सेवा ४५ जनालाई प्रदान गरिएको थियो भने स्तनसम्बन्धी स्वास्थ्य सेवा ५ जनाले लिएका थिए । परिवार नियोजनअन्तर्गत ८ जनाले इम्प्लान्ट सेवा लिएका छन् । शिविरमा पाठेघर खस्ने समस्या भएका ३ जना महिलाको पहिचान गरिएको थियो भने २ जनालाई रिङ पेसरी राखिएको उनले जानकारी दिइन् । ग्रामीण क्षेत्रमा महिलाहरू स्वास्थ्य परीक्षणबाट टाढा रहने अवस्थालाई मध्यनजर गर्दै यस्ता शिविर प्रभावकारी भएको स्थानीयले बताएका छन् । निःशुल्क सेवा पाएपछि महिलाहरू उत्साहित देखिएका थिए । शिविरका माध्यमबाट महिलामा पाठेघरको मुखको क्यान्सर, यौन संक्रमण तथा प्रजनन स्वास्थ्यबारे चेतना फैलिएको सहभागीहरूले बताएका छन् ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार