
नेपालगन्ज, जेठ १४ बाँकेको नेपालगन्ज विमानस्थलमा मंगलबार दिउँसो भएको आगलागी समयमै नियन्त्रणमा आउँदा ठूलो क्षति हुनबाट जोगिएको छ । पुरानो ट्रान्सफर्मर नजिक विद्युत् लाइनबाट स्पार्क भएर आगोको झिल्का खस्दा विमानस्थल परिसरभित्र आगलागी भएको थियो ।
तार आपसमा ठोक्किँदा, इन्सुलेसन बिग्रिँदा, ट्रान्सफर्मर वा लाइनमा प्राविधिक खराबी आउँदा, वा हावाहुरीका कारण लाइन सर्ट हुँदा ‘झट्का जस्तो उज्यालो’ देखिन्छ, त्यसैलाई स्पार्क भनिन्छ । विद्युत् लाइनबाट ‘स्पार्क भएर आगोको झिल्का खस्नु’ भन्नाले विद्युत् तार वा उपकरणमा अचानक विद्युत् सर्ट, ढिलो–चाँडो सम्पर्क, तार चुँडिनु, वा अत्यधिक लोडका कारण चिंगारी (स्पार्क) निस्किनु हो । यही चिंगारी वा तातो धातुको सानो टुक्रा तल झर्दा वरिपरिका सुख्खा घाँस, प्लास्टिक, तेलजन्य पदार्थ वा ज्वलनशील वस्तुमा आगो लाग्न सक्छ । आगलागी भएको क्षेत्रको उत्तरतर्फ विमानस्थलको रनवे रहेको छ भने दक्षिणतर्फ नेपाल आयल निगमको इन्धन भण्डारण केन्द्र छ । आगो लागेको स्थान नजिकै बाहिर सडकतर्फ आयल निगमका केही ट्यांकरसमेत पार्किङमा रहेकाले घटना केहीबेर तनावपूर्ण बनेको थियो ।
स्थानीय कर्मचारी र विमानस्थल सुरक्षाकर्मीले आगो देख्नेबित्तिकै नियन्त्रण प्रयास सुरु गरेका थिए । त्यसपछि विमानस्थलको फायर भेहिकल घटनास्थलमा पुगेर आगो निभाएको थियो । करिब पाँचदेखि सात मिनेटभित्र आगो पूर्णरूपमा नियन्त्रणमा आएकाले सम्भावित ठूलो दुर्घटना टरेको हो । विमानस्थल प्रशासनका अनुसार आगलागी फैलिन नपाउँदै नियन्त्रणमा आएकाले कुनै भौतिक तथा मानवीय क्षति भएको छैन । आगलागीका कारण आसपासका सुख्खा घाँस जलेका छन् भने अन्य संरचनामा क्षति पुगेको छैन ।
नेपालगन्ज विमानस्थलका प्रवक्ता दिपेन्द्र रिजालले आगो सामान्य अवस्थामै नियन्त्रणमा आएकाले ठूलो जोखिम हुन नपाएको बताए । उनले विद्युत् लाइनबाट स्पार्क हुँदा ट्रान्सफर्मर आसपासको क्षेत्रमा आगो लागेको जानकारी दिए । ‘आगो ठूलोरूप लिन पाएन । समयमै नियन्त्रणमा आएकाले कुनै ठूलो क्षति भएन,’ उनले भने, ‘आगलागी आसपासका घाँसमा मात्रै सीमित भयो ।’
घटनापछि विमानस्थल क्षेत्रमा केही समय सतर्कता अपनाइएको थियो । सुरक्षाकर्मीले रनवे आसपासको क्षेत्रको निरीक्षण गर्नुका साथै इन्धन भण्डारण क्षेत्रतर्फ थप निगरानी बढाएका थिए । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा आगलागी भएको घटनाले विद्युत् सुरक्षामा थप सतर्कता आवश्यक रहेको देखिएको छ । विशेषगरी गर्मीयाममा सुख्खा घाँस र उच्च तापक्रमका कारण सामान्य स्पार्कबाट पनि आगलागी फैलिन सक्ने जोखिम रहने भएकाले नियमित निरीक्षण र सुरक्षा तयारीलाई प्राथमिकता दिनुपर्ने स्थानीयले बताएका छन् ।
नेपालगन्ज विमानस्थल पश्चिम नेपालको महŒवपूर्ण हवाई नाका मानिन्छ । दैनिक आन्तरिक उडान सञ्चालन हुने यस विमानस्थलमा आगलागी नियन्त्रण समयमै हुनुले सम्भावित ठूलो दुर्घटना टरेको सरोकारवालाले बताएका छन् ।