काेहलपुर गाेल्डकप : कर्णालीकाे पाेष्टमा नाइजेरियाकाे ४ गाेल

Author Logo..
२०८३ बैशाख २१ गते सोमवार

२१ बैशाख, काेहलपुर  बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकपको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया)ले रोयल फुटबल क्लब (कर्णाली प्रदेश) लाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

सोमबार बिहान सम्पन्न खेलमा नाइजेरियाले कर्णालीलाई हराएको हो । खेलतालिका अनुसार यी दुई टिमबिचको खेल आइतबार साँझ हुने तय भए पनि हावाहुरीसहितको वर्षाका कारण खेल बिचमै रोकिएको थियो ।

आइतबार ३७ मिनेटसम्म खेल भएको थियो । त्यसपछि वर्षाका कारण स्थगित खेल सोमबार बिहान पुनः खेलाईएकाे हाे । आइतबारको खेलमा नाइजेरियाका ९ नम्बर जर्सीका खेलाडी हमजत डेमोलाले २२औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सोमबार बिहान बाँकी पहिलो हाफमा दुवै टिमबाट थप गोल हुन सकेन ।

दोस्रो हाफमा नाइजेरियाका १० नम्बर जर्सीका खेलाडी अब्दुल अजिज इसोलाले ४७औँ मिनेटमा, २९ नम्बर जर्सीका वालेही अफिजले ५२औँ मिनेटमा र २७ नम्बर जर्सीका तजुदिन एडेवालेले ९०औँ मिनेटमा गोल गर्दै टिमकाे जित सुनिश्चित गरेका थिए ।

रोयल फुटबल क्लबले २ गोल फर्काए पनि खेलमा फर्कन सकेन । राेयल क्लबका ७ नम्बर जर्सीका खेलाडी सन्दीप देउवाले ४९औँ मिनेटमा र विक्रम वलीले ७७औँ मिनेटमा गोल गरेका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ नाइजेरियाका हमजत डेमोला घोषित भए । उनले नगद पाँच हजार रुपियाँ र ट्रफि प्राप्त गरे ।

प्रतियोगिताको तेस्रो दिन आज लालीगुराँस एसोसिएसन क्लब (पोखरा) र सातदोबाटो युवा क्लब (ललितपुर) बिच खेल हुने आयोजकले जनाएको छ । तर खराब मौसमका कारण आजको खेलबारे अन्तिम निर्णय हुन बाँकी रहेको प्रतियोगिता संयोजक कर्ण बहादुर बस्नेतले जानकारी दिए ।

कोहलपुर-२ स्थित तेह्र बिघा खेलमैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोहलपुर रेसिङ सहारा क्लब विजयी भएको थियो । उक्त खेलमा कोहलपुरले पञ्चकोशी युवा क्लब (सुदूरपश्चिम)लाई २-१ गोलअन्तरले हराएको थियो।

प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा क्लब, पञ्चकोशी युवा क्लब, लालीगुराँस एसोसिएसन क्लब, सातदोबाटो युवा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र नेपाल पुलिस क्लब सहभागी छन् । प्रतियोगिताकाे विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार