
हुम्ला, वैशाख ४ हिमाली जिल्ला हुम्ला ‘लोडसेडिङमुक्त देश’को घोषणाभन्दा धेरै टाढा देखिएको छ । जिल्लाको सदरमुकाम सिमकोटमा विद्युत् आपूर्ति अत्यन्त अनियमित भएपछि सरकारी कर्मचारीहरू राति अबेरसम्म मैनबत्तीको उज्यालोमा काम गर्न बाध्य भएका छन् । दैनिक जीवन मात्र होइन, अत्यावश्यक सरकारी सेवा नै अन्धकारसँग जुध्दै अघि बढिरहेको अवस्था छ ।
सिमकोटमा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको कमजोर व्यवस्थापन र उत्पादन क्षमतामा आएको गिरावटका कारण दैनिक १८ देखि २० घण्टासम्म लोडसेडिङ हुने गरेको स्थानीय कर्मचारीहरू बताउँछन् । दिनको समयमा विद्युत् आपूर्ति भरपर्दो नहुँदा कार्यालयका नियमित कामहरू प्रभावित हुने गरेका छन् भने ती कामहरू पूरा गर्न कर्मचारीहरू रातिको समयमा समेत कार्यालयमा बस्नुपर्ने बाध्यता बढेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत सहायक जिल्ला न्यायाधीवक्ता निशा केसीका अनुसार सेवा प्रवाहलाई निरन्तरता दिन कुनै पनि हालतमा काम रोकिनु हुँदैन भन्ने मान्यताका साथ कर्मचारीहरूले अतिरिक्त मेहनत गरिरहेका छन् । उनले दिनको समयमा बिजुली नहुँदा आवश्यक कागजी तथा प्रशासनिक कामहरू थन्किन बाध्य हुने र त्यसलाई रातिको समयमा मैनबत्ती बालेर सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताइन् । उनका अनुसार न्याय खोज्न आउने सेवाग्राहीको पीडा समयसँग सीमित नहुने भएकाले कठिन परिस्थितिमा पनि सेवा अवरुद्ध नगर्ने प्रयास भइरहेको छ ।
यस्तै, सामाजिक विकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहले पनि विद्युत् समस्याका कारण दैनिक प्रशासनिक काममा गम्भीर असर परेको बताए । उनले दिनभरि काम गर्न नपुग्दा राति १०–११ बजेसम्म कार्यालयमै बसेर काम गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । “बिजुलीको भरपर्दो आपूर्ति नहुँदा कामको चाप बढ्दै गएको छ, जसले कर्मचारीको कार्यक्षमता र सेवाग्राहीको सन्तुष्टिमा समेत असर पारिरहेको छ,” उनले भने ।
विद्युत् अभावको असर सरकारी कार्यालयमा मात्र सीमित छैन । हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसइई)का परीक्षार्थीहरूले पनि अध्ययनका लागि मैनबत्ती र टर्चको सहारा लिनुपरेको स्थानीयहरूले बताएका छन् । नियमित रूपमा विद्युत् उपलब्ध नहुँदा विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ, जसले शैक्षिक उपलब्धिमा समेत नकारात्मक प्रभाव पार्ने चिन्ता व्यक्त गरिएको छ ।
हिल्दुम विद्युत् वितरण केन्द्रले भने प्राकृतिक स्रोतमा आएको कमीलाई विद्युत् संकटको मुख्य कारणका रूपमा देखाएको छ । केन्द्रका प्रतिनिधिका अनुसार पानीको बहाव घटेपछि उत्पादन क्षमता कमजोर बनेको छ, जसले सिमकोटमै पर्याप्त विद्युत् आपूर्ति गर्न समस्या भइरहेको छ । यस्तो अवस्थामा गाउँ–गाउँमा विस्तार गरिएको विद्युत् लाइनले थप भार सिर्जना गरेको उनीहरूको भनाइ छ ।
स्थानीय स्तरमा विद्युत् आपूर्तिको दीर्घकालीन समाधान नहुँदासम्म हुम्लावासीले यस्तै समस्या भोगिरहनुपर्ने देखिन्छ । सरकारी सेवा, शिक्षा र दैनिकी सबै क्षेत्रमा असर पारिरहेको यो संकटले ‘लोडसेडिङमुक्त नेपाल’को दाबीमाथि नै प्रश्न उठाएको छ । सम्बन्धित निकायले समयमै ठोस पहल नगरे, दुर्गम क्षेत्रका नागरिकहरू अझै लामो समयसम्म अन्धकारमै बस्न बाध्य हुने निश्चित देखिन्छ ।