
काठमाडौं, चैत २७ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भित्रयाइएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित उच्च तहका भन्सार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले करिब साढे ८ किलो सुन भेप (विद्युतीय चुरोट) भित्र लुकाएर तस्करी गरिएको र त्यसलाई नियोजित रूपमा हिनामिना गरिएको ठहर गर्दै ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र पेश गरेको हो । अनुसन्धानअनुसार चिनियाँ नागरिक ली हाङ सोङले २०७९ पुस १० गते फ्लाई दुबईको उडानमार्फत ७३० थान भेपभित्र सुन लुकाएर नेपाल भित्र्याएका थिए । भन्सारको एक्स–रे जाँचका क्रममा शंकास्पद वस्तु देखिएपछि सामान रेड च्यानलमा पठाइएको थियो । तर, त्यही क्रममा भन्सार कर्मचारी र तस्करबीच मिलेमतो भई सुन बरामद नगरी गोदाममा राखिएको पाइएको छ ।
अख्तियारका अनुसार गोदाममा राखिएको उक्त सामान पछि योजनाबद्ध रूपमा निकालिएको थियो । सीसीटीभी नभएको स्थान प्रयोग गरी सुन निकालेर नक्कली भेप राखिएको र वास्तविक सुन काठमाडौंका व्यापारीमार्फत बजारमा बिक्री गरिएको अनुसन्धानबाट खुलेको छ । यस प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतद्वय मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाललाई मुख्य अभियुक्त बनाइएको छ । साथै अन्य भन्सार अधिकृत, नायब सुब्बा र सुरक्षागार्डसमेत संलग्न रहेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
पूर्वसभामुख महरा र उनका छोरा राहुल भनिने रेशम महरालाई मतियारका रूपमा अभियोग लगाइएको छ । उनीहरूले भन्सार कर्मचारीलाई प्रभावमा पारेर सुन छुटाउन भूमिका खेलेको अख्तियारको दाबी छ । यसैगरी, विदेशी नागरिकहरू तथा विभिन्न व्यवसायीहरूलाई समेत सुन बिक्री र रकम व्यवस्थापनमा संलग्न देखिएको भन्दै प्रतिवादी बनाइएको छ । डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रालिको खातामा समेत अवैध रकम जम्मा भएको पाइएको आयोगले जनाएको छ ।
अख्तियारले सबै प्रतिवादीबाट बिगो असुलीका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको माग गरेको छ । साथै मुख्य अभियुक्त अरुण पोखरेललाई पदको दुरुपयोग गरेको भन्दै थप सजाय माग गरिएको छ भने महरासहितका मतियारलाई मुख्य कसुरदारसरह सजाय हुनुपर्ने दाबी गरिएको छ ।