
बाँके, चैत २७ बाँके जिल्लामा भूमिगत जलस्रोतको उपयोग गर्दै सिँचाइ सुविधा विस्तार गर्ने प्रयास क्रमशः प्रभावकारी बन्दै गएको छ । हाल जिल्लामा जडान गरिएका डिप बोरिङमध्ये ४१ वटा सञ्चालनमा रहेर एक हजार दुई सय ७१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याइरहेको तथ्य सार्वजनिक भएको छ । यसले वर्षा निर्भर खेती प्रणालीबाट किसानलाई क्रमशः मुक्ति दिलाउँदै वर्षभरि उत्पादन गर्न सक्ने आधार तयार पारिरहेको देखिन्छ ।
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेका अनुसार सञ्चालनमा रहेका यी डिप बोरिङहरू कृषकका लागि वैकल्पिक सिँचाइ स्रोतका रूपमा महत्वपुर्ण साबित भइरहेका छन् । कार्यालयका सूचना अधिकारी मधु न्यौपानेका अनुसार एउटा डिप बोरिङबाट औसतमा करिब ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने गरेको छ । यस आधारमा अहिले सञ्चालनमा रहेका ४१ बोरिङले ठूलो क्षेत्रफल ओगटेका खेतीयोग्य जमिनमा पानी उपलब्ध गराइरहेका छन् ।
बाँके जिल्लामा सिँचाइको दीर्घकालीन समाधानका लागि राष्ट्रिय गौरवको आयोजनाका रूपमा सिक्टा सिँचाइ आयोजना सञ्चालनमा छ । ४२ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित निर्माण भइरहेको उक्त आयोजनाले जिल्लाको कृषि उत्पादन प्रणालीमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । तर, आयोजनाको संरचना अझै पूर्णरूपमा सबै क्षेत्रमा नपुगेको अवस्थामा डिप बोरिङहरू पूरक समाधानका रूपमा अघि सारिएका हुन् ।
कार्यालयका अनुसार सिक्टा सिँचाइ आयोजनाले नछोएका तथा तत्काल सिँचाइ सुविधा आवश्यक भएका स्थानहरूमा प्राथमिकताका साथ डिप बोरिङ जडान गरिँदै आएको छ । यसले विशेषगरी साना तथा मध्यम किसानलाई प्रत्यक्ष लाभ पुर्याएको छ । परम्परागत रूपमा वर्षामा निर्भर रहेका किसानहरू अहिले बोरिङको सहायताले हिउँदे तथा बेमौसमी बालीसमेत उत्पादन गर्न सक्षम भएका छन् ।
यस्तै, स्थानीय तहहरूका कृषि शाखा तथा संघीय सरकारले पनि सिँचाइ विस्तारका लागि सहकार्य गर्दै आएका छन् । विभिन्न पालिकाहरूले आफ्नो बजेटमार्फत सिँचाइ सुविधा नपुगेका क्षेत्रमा डिप बोरिङ जडान कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसले ग्रामीण भेगका किसानहरूमा उत्साह थपेको छ भने उत्पादन वृद्धि तथा आम्दानी बढाउन मद्दत पुगेको छ ।
कृषकहरूका अनुसार डिप बोरिङ जडान भएपछि खेतमा पानीको अभाव कम भएको छ । समयमै सिँचाइ गर्न पाउँदा बाली उत्पादनमा सुधार आएको छ भने खेतीप्रति आकर्षण पनि बढेको छ । पहिले वर्षाको भरमा खेती गर्दा हुने अनिश्चितता अहिले घट्दै गएको उनीहरूको अनुभव छ ।
तर, केही स्थानमा विद्युत् आपूर्ति, मर्मतसम्भार तथा व्यवस्थापनका समस्या पनि देखिएका छन् । दीर्घकालीन रूपमा डिप बोरिङ सञ्चालनलाई प्रभावकारी बनाउन नियमित अनुगमन, प्राविधिक सहयोग र किसानको सहभागिता आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।
समग्रमा, बाँकेमा डिप बोरिङमार्फत सिँचाइ सुविधा विस्तारले कृषिमा सकारात्मक प्रभाव पारेको छ । सिक्टा सिँचाइ आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि अझ व्यापक क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिए पनि हालका लागि डिप बोरिङहरूले किसानलाई महŒवपूर्ण सहारा प्रदान गरिरहेका छन् ।