कोहलपुरमा गडौला मल उत्पादनको अभ्यास निरन्तर बढ्दै गएको र कृषकहरूको जीवनस्तर सुधारमा यसले महत्वपूर्ण भूमिका खेलिरहेको छ । जैविक मलको प्रयोग र उत्पादनले कोहलपुरलाई मात्र नभई वरिपरिका क्षेत्रलाई पनि जैविक खेतीतर्फ प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।

कोहलपुर, चैत २३ पछिल्लो समय कोहलपुरका कृषकहरू रासायनिक मलको अत्याधिक प्रयोगबाट उत्पन्न समस्या कम गर्न र माटोको उर्वराशक्ति बढाउन गडौला मल उत्पादनतर्फ आकर्षित हुन थालेका छन् । कम लागत, उच्च उत्पादन र वातावरणमैत्री खेती प्रवद्र्धन गर्ने भएकाले गडौला मल कृषकहरूको आम्दानीको नयाँ श्रोत बन्न पुगेको छ ।
अत्याधिक रासायनिक मलको प्रयोगले माटोको जैविक गुणस्तर घटाउन थालेपछि स्थानीय कृषकहरूले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्दै उत्पादन वृद्धि गर्दै आएका छन् । कोहलपुरस्थित प्रज्वल कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक बिना खड्काका अनुसार, ‘हाम्रो फर्मबाट दैनिक एक क्विन्टलसम्म गडौला मल बिक्री हुँदै आएको छ । कृषकहरूले जैविक मल प्रयोग गर्न थालेपछि उत्पादन मात्र बढेको छैन, आम्दानी पनि राम्रै भएको छ ।’ स्थानीय गडौला मल उत्पादक थल बहादुर खड्काले बताए अनुसार, गडौला मल उत्पादनका लागि गोबर, पातपतिंगर, र जैविक फोहोर प्रयोग गरिन्छ । ‘यसले माटोको संरचना सुधार्न मद्दत गर्छ र दीर्घकालीन रूपमा उत्पादन टिकाउ बनाउन सहयोग पुर्याउँछ,’ उनले भने । खड्काका अनुसार, २६ वटा वेडबाट ६० क्विन्टल गडौला मल उत्पादन गर्न सकिन्छ र यसबाट कृषकले करिब दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सक्छन् ।
गडौला मल उत्पादन प्रक्रिया पनि सरल छ । सही रूपमा व्यवस्थापन गर्दा यो दुईदेखि तीन महिनाभित्र तयार हुन्छ । यसको प्रयोगले माटोमा जैविक तत्वको मात्र बढाउँदैन, माटोको संरचनालाई मजबुत बनाउँछ र रासायनिक मलमा हुने नकारात्मक प्रभाव पनि कम गर्छ । कृषकहरूले गडौला मलको प्रयोग गर्दा माटोको स्वास्थ्य कायम रहन्छ र लामो समयसम्म उत्पादन टिकाउ रहन्छ । प्रज्वल कृषि फर्मले कृषकलाई आवश्यक सामग्री र प्रशिक्षण उपलब्ध गराउँदै आएको छ । विना खड्काका अनुसार, ‘हामी कृषकलाई जैविक मल उत्पादनका तरिका देखाउँछौँ र उनीहरूलाई बजारसम्म जोड्ने काम पनि गर्छौँ । यसले कृषकलाई थप उत्प्रेरणा दिएको छ ।’
स्थानीय कृषक थलबहादुर खड्काका अनुसार, गडौला मलले केवल उत्पादन वृद्धि मात्र होइन, लागत घटाउने र वातावरण संरक्षणमा समेत टेवा पुर्याएको छ । ‘हामीले प्रयोग गर्ने सामग्री पूर्णतया जैविक र वातावरणमैत्री भएकाले यो खेती दीगो र लाभदायी छ,’ उनले भने । गडौला मल उत्पादनले कोहलपुरका कृषकहरूमा नयाँ सोच र अभ्यासको विकास गरेको छ । कृषकहरू अब रासायनिक मलको अत्याधिक प्रयोगमा निर्भर नहुँदै जैविक मल प्रयोगमा जोड दिइरहेका छन् । यसले स्वास्थ्य र पर्यावरण दुवैमा सकारात्मक प्रभाव पार्दै आएको छ ।
कृषकहरूका अनुसार, गडौला मलको प्रयोग गर्दा माटोमा क्षारीयता कम हुन्छ र जल व्यवस्थापनमा समेत सुधार आउँछ । यसले दीर्घकालीन रूपमा खेतीलाई टिकाउ बनाउँछ । साथै, जैविक मलको माग बढेसँगै कृषकहरूले आम्दानीमा पनि वृद्धि अनुभव गरेका छन् । कोहलपुरका कृषकहरूको यो नयाँ अभ्यासले अन्य क्षेत्रका कृषकलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ । जैविक मल उत्पादनमार्फत उनीहरूले न केवल आफ्नो उत्पादन र आम्दानी बढाएका छन्, तर दीगो खेती, वातावरण संरक्षण र स्वास्थ्यप्रति पनि ध्यान दिएका छन् ।
विगत केही वर्षयता रासायनिक मलको प्रयोगले माटो ह्रास भइसकेको अवस्थामा, गडौला मलले कोहलपुरका कृषकहरूलाई स्वस्थ, लाभदायी र टिकाउ खेतीतर्फ उन्मुख गराएको छ । कृषकहरूका अनुसार, जैविक मल प्रयोगले माटो र वातावरण दुवैको संरक्षण हुन्छ र भविष्यमा कृषकको आम्दानी सुनिश्चित गर्छ । कोहलपुरमा गडौला मल उत्पादनको अभ्यास निरन्तर बढ्दै गएको र कृषकहरूको जीवनस्तर सुधारमा यसले महत्वपूर्ण भूमिका खेलिरहेको छ । जैविक मलको प्रयोग र उत्पादनले कोहलपुरलाई मात्र नभई वरिपरिका क्षेत्रलाई पनि जैविक खेतीतर्फ प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।