भेरी अस्पतालको अध्ययन ३२५ मा १८७ मा भिरिंगी

Author Logo..
२०८२ चैत्र २० गते शुक्रवार

नेपालगन्ज, चैत २०  भेरी अस्पतालमा भइरहेको वैज्ञानिक अनुसन्धानले सिफलिस (भिरिंगी) संक्रमणको वास्तविक स्थिति तीन महिनामै स्पष्ट पारेको छ । डा. बद्री चापागाइँ नेतृत्वको ’भेनस अध्ययन २०२६’ अन्तर्गत ३२५ बिरामीको विवरण संकलन गरिएको छ, जसले समाजमा अझै पनि फैलिएको संक्रमणको गम्भीर तस्विर देखाएको छ ।

तथ्यांक अनुसार १८७ जना नयाँ सिफलिस संक्रमित पहिचान भएका छन् । यसमा २०–४० वर्ष उमेर समूहका युवा सबैभन्दा बढी प्रभावित देखिएका छन् । जन्मजात संक्रमणका कारण शिशुहरूदेखि ६५ वर्षका वृद्धसम्ममा संक्रमण भेटिएको छ । केही केसमा आमाबाट शिशुमा सिफलिस सरेको (कन्जेनिटल ट्रान्समिसन) पनि पुष्टि भएको छ । वैदेशिक रोजगारीका लागि गरिने स्वास्थ्य परीक्षणमा ‘अनफिट’ ठहरिने संक्रमितको संख्या पनि उल्लेखनीय छ । यौनांगमा घाउ भएका बिरामी र पुरानो संक्रमण निको भए/नभएको जाँच गर्न आएका करिब ३० प्रतिशत बिरामीको विवरण रेकर्डमा समावेश भएको छ ।

भेरी अस्पतालले सेवा प्रभावकारी बनाउन छाला तथा यौन रोग विभाग अन्तर्गत ‘भेनस कर्नर’ स्थापना गरेको छ । कोठा नं २२ मा निःशुल्क, गोप्य र व्यवस्थित रूपमा परामर्श, परीक्षण र उपचार सेवा उपलब्ध छ । डा. चापागाइँले भने, ‘सिफलिस केवल व्यक्तिगत स्वास्थ्य समस्या नभई सामाजिक व्यवहार, औषधिको अनियन्त्रित प्रयोग र नीति कमजोरीसँग जोडिएको जटिल सार्वजनिक स्वास्थ्य चुनौती हो । यस अध्ययनले उपचार प्रक्रियामा देखिएका चुनौती, स्वास्थ्यकर्मीको भ्रम र बिरामीले भोग्ने सामाजिक लाञ्छनाबारे तथ्यगत जानकारी प्रदान गर्नेछ ।’

अध्ययनबाट प्राप्त निष्कर्षले राष्ट्रिय यौनजन्य रोग (एसटिआई) मार्गनिर्देशन र वैदेशिक रोजगारीसम्बन्धी स्वास्थ्य नीतिमा सुधारका लागि आधार तयार पार्ने विश्वास व्यक्त गरिएको छ । अध्ययन जनवरी १, २०२६ देखि सुरु भई डिसेम्बरसम्म निरन्तर चल्नेछ । यस पहलले सिफलिस नियन्त्रणमा मात्र होइन, सुरक्षित परीक्षण र उपचारका लागि जनचेतना बढाउने अवसर पनि प्रदान गर्ने विशेषज्ञहरूको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार