
काठमाडौं ,१९ चैत गते संघीय संसद् सचिवालयका अनुसार आज (बिहीबार) बस्ने प्रतिनिधिसभा बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ६ मध्ये ४ दलका शीर्ष नेताहरूले मन्तव्य राख्ने भएका छन्। नयाँ जनादेशपछि पहिलोपटक बस्न लागेको यो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले बैठकमा आफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट वर्षामान पुनले पनि मन्तव्य दिने तय भएको छ।
हालसम्म श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट भने वक्ताको नाम नआएको जनाइएको छ। यद्यपि ती दलबाट नाम प्राप्त भएमा उनीहरूलाई पनि मन्तव्य राख्न समय उपलब्ध गराइने सचिवालयले जनाएको छ।
बैठक सिंहदरबारस्थित पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो २ बजे बस्नेछ। रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य तथा सभामुखको भूमिकामा रहेका अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको विवरण पढेर सुनाउने कार्यसूची रहेको छ।
यसै बैठकमा सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
त्यसैगरी प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि ‘प्रतिनिधिसभा नियमावली, २०७९’ बमोजिम कार्य सञ्चालन गर्ने प्रस्ताव पनि बैठकमा पेश गरिनेछ। सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सदस्यहरूको मनोनयन गर्ने र आगामी सभामुख निर्वाचनका लागि मिति तोक्ने विषय पनि कार्यसूचीमा समावेश गरिएको छ।
बैठकको अन्त्यमा संविधानसभा तथा संघीय संसद्का दिवंगत सदस्यहरू ; ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि नयाँ राजनीतिक समीकरणसँगै सुरु हुन लागेको प्रतिनिधिसभाको पहिलो बैठकले आगामी राजनीतिक दिशा निर्धारणमा महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।