आन्दोलनमा सहभागीहरूले ‘हत्यारालाई फाँसी दे’, ‘महिला हिंसा बन्द गर’ जस्ता नारा लगाउँदै सामाजिक न्याय र सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा बुझाएको ध्यानाकर्षण पत्रमा मध्यरातमा महिलालाई जिउँदै जलाइ हत्या गरेको घटनामा दोषीलाई हदैसम्मको सजाय दिन र पीडितलाई पूर्ण न्याय सुनिश्चित गर्न आग्रह गरिएको छ ।

नेपालगन्ज, चैत १७नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरस्थित सडकमा अन्दाजी २२ वर्षीया सिजना बुढा मगर जलेको अवस्थामा फेला परेपछि स्थानीय समाज, महिला अधिकारकर्मी र परिवारले न्यायका लागि आन्दोलन सुरु गरेका छन् । पीडितका परिवारले ‘छोरी मार्न पाइँदैन’ लगायत नारासहित दोषीमाथि कठोर कारबाहीको माग गरेका हुन् । आन्दोलनमा सहभागीहरूले ‘हत्यारालाई फाँसी दे’, ‘महिला हिंसा बन्द गर’ जस्ता नारा लगाउँदै सामाजिक न्याय र सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । पीडित परिवारले जिल्ला प्रशासन कार्यालयमा बुझाएको ध्यानाकर्षण पत्रमा मध्यरातमा महिलालाई जिउँदै जलाइ हत्या गरेको घटनामा दोषीलाई हदैसम्मको सजाय दिन र पीडितलाई पूर्ण न्याय सुनिश्चित गर्न आग्रह गरिएको छ ।
पत्रमा उल्लेख छ कि २४ घण्टाभित्र दोषीलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउनुपर्ने, दोषी जोसुकै भए पनि जन्मकैद वा कडा कानुनी सजाय सुनिश्चित गर्नुपर्ने र अपराधीलाई कुनै पहुँच वा शक्ति प्रयोग गरेर बचाउने प्रयास रोक्नुपर्ने चेतावनी दिइएको छ ।
घटना विवरणअनुसार, मृतक युवती नेपालगन्ज–८, रानीतलाउ नजिकै कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनी विवाहित थिइन् र चार वर्षीया छोरीकी आमा थिइन् । प्रारम्भिक अनुसन्धान अनुसार मृतक र २४ वर्षीय मो. आरिफ ढपाली दुई वर्षदेखि सहजीवनमा बस्दै आएका थिए । चैत १३ गते मृतकले आफूलाई आरिफले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । सोही दिन आरिफलाई नियन्त्रणमा लिइएको थियो । अनुसन्धान क्रममा दुवै पक्षबीच आपसी सहमतिमा मिलेर बस्ने सहमति भएको र त्यसपछि शनिबार बिहान आरिफलाई छोडिएको खुल्न आएको छ ।
अहिले आन्दोलनमा सहभागीहरू सुरक्षा सुनिश्चित, दोषीको तत्काल पक्राउ, हदैसम्मको सजाय र पीडितलाई पूर्ण न्यायको माग गर्दै सरकार र सुरक्षा निकायमाथि दबाब बढाइरहेका छन् । नागरिक समाजले चेतावनी दिएको छ कि यदि न्याय ढिला भयो वा अपराधीलाई बचाउने प्रयास भए, उनीहरू कडा आन्दोलनमा उत्रनेछन् । सामाजिक र राजनीतिक नेतृत्वले पनि घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक कारबाही अघि बढाउनुपर्नेमा जोड दिँदै छन् । यस प्रकार, नेपालगन्जमा महिलामाथि भएको जघन्य आगलागी हत्या घटनाले स्थानीय समाज, महिला अधिकारकर्मी र राजनीतिक नेतृत्वलाई सक्रिय बनाएको छ । उनीहरूले न्याय, सुरक्षा र सामाजिक चेतना जगाउन यस घटनालाई अवसरका रूपमा लिँदै दोषीमाथि कठोर कारबाही सुनिश्चित गर्न सरकार र सुरक्षा निकायमाथि दबाब कायम राखिरहेका छन् ।

बाँके–२ का प्रतिनिधिसभा सदस्य मोहम्मद ईश्तियाक राईले घटनाको गम्भीर अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन् । उनले भने, ‘यो दुःखद् घटनाको घोर भत्सर्ना गर्दै द्रुत र प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही सुनिश्चित गर्न प्रहरी प्रशासन समक्ष आग्रह गर्दछु ।’ सांसद राईले दोषी जोसुकै भएपनि यथाशीघ्र कानुनी कारबाही अघि बढाउनुपर्ने र सुरक्षा व्यवस्था सुदृढ पार्नुपर्नेमा जोड दिएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशसभाका सदस्य अम्बिका काफ्लेले महिलालाई जलाएर मार्ने अपराधीलाई कुनै हालतमा छुट दिन नहुने र कडा कारबाहीको माग गरेकी छिन् । उनले समाजमा महिला हिंसा बढ्दै गएको भन्दै तत्काल रोकथामका लागि उचित कदम चालिनुपर्ने बताइन् । नागरिक सरोकार मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठले पनि यस्तो जघन्य अपराध गर्नेलाई कुनै हालतमा छोड्न नहुने उल्लेख गरेका छन् ।
नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुण शाहले भनिन्, ‘हामी सबै छोरी बाँच्न सुरक्षित छैनौं । हत्यारालाई फाँसीको सजाय हुनु आवश्यक छ । महिलाहरूले हातेमालो गरेर अगाडि बढ्न सकेन भने हिंसा न्यूनीकरण गर्न सकिँदैन ।’ उनले सरकारलाई न्याय दिने र पीडितलाई सुरक्षा, राहत र सामाजिक न्याय सुनिश्चित गर्ने जिम्मेवारी रहेको स्पष्ट पारेकी छन् ।
मुद्दा र मागहरूः
दोषीलाई २४ घण्टाभित्र पक्राउ ।
हदैसम्मको सजाय सुनिश्चित ।
पीडितलाई न्याय, सुरक्षा, राहत र सामाजिक न्याय प्रदान ।
महिला हिंसा, हत्या र अपराध नियन्त्रणमा सरकार र सुरक्षा निकायको सक्रियता ।
हत्या भएको पीडित परिवारको आरोप
नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरकी अन्दाजी २२ वर्षीया सिजना बुढा मगरका परिवारले लिभिङ टुगेदरमा बस्ने युवकले नै जलाएर मारेको आरोप लगाएका छन् । मृतक र २४ वर्षीय मो. आरिफ ढपालीबीच विगत दुई वर्षदेखि सहजीवन (लिभिङ टुगेदर) मा बस्दै आएका थिए ।
उनीहरु बीच बेलाबेला सामान्य झैझगडासमेत हुने गरेका थिए । चैत १३ गते शुक्रबार मृतकले आफूलाई आरिफले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि सोही दिन राति उनलाई नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार अनुसन्धानकै क्रममा दुबै पक्षबीच आपसी सहमतिमा मिलेर बस्ने सहमति भएको पनि खुल्न आएको छ । सहमतिपछि शनिबार बिहान प्रहरीले उनलाई छोडेको थियो । लिभिङ टुगेदरमा बसेका ढपालीले नै परिवारका सदस्यसँग मिलेर हत्या गरेको आफन्तको भनाइ छ ।
अनुसन्धान भइरहेको छः प्रहरी
नेपालगन्ज प्रहरीले सिजना बुढा मगरको हत्या घटनामा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार घटनासँग सम्बन्धित तीनजनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका तीन जनामा मृतकसँग सहजीवनमा बसेको युवक, उसको आमा र दिदी रहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी प्रवक्ता दीपक पातलीले घटनाको थप तथ्य खोज्न अनुसन्धान जारी रहेको र सामाजिक सञ्जालमा फैलिएका अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन् । उनले भने, ‘हामी आधिकारिक स्रोतबाट मात्रै सूचना दिनेछौं । अपराधी पहिचान र न्याय सुनिश्चित गर्न द्रुत कारबाही अघि बढाइँदैछ ।’ थप अनुसन्धानका लागि प्रहरीले स्थानीय र प्रमाण संकलन गरी कानुनी प्रक्रिया अघि बढाइरहेको छ ।