
लेखनाथ, चैत १६ गते गण्डकी प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गत शनिबार बसेको पाँचौँ बैठकले गण्डकी प्रदेश सडक ऐन, २०८१ संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशमा सडक पूर्वाधार विस्तार तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक ठहर गर्दै विधेयक पारित गरिएको हो ।
बैठकमा विधेयकमाथि दफावार छलफल गरिएको थियो । छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका जिज्ञासा र सुझावहरूको जवाफ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले दिनुभएको थियो । उहाँले सडक विस्तार तथा स्तरोन्नतिका क्रममा देखिएका कानुनी र प्राविधिक जटिलता समाधान गर्न ऐन संशोधन अपरिहार्य बनेको बताउनुभयो ।
मन्त्री केसीका अनुसार प्रदेश सरकारले सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै विभिन्न आयोजना अघि बढाइरहेको छ । चालु आर्थिक वर्षमा हालसम्म ८६.५१ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ भने १५ वटा बहुवर्षीय सडक आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । त्यसैगरी ११ वटा सडक पुल र ५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको जानकारी उहाँले दिनुभयो ।
उहाँले भदौ २३ र २४ गते भएको आगजनीबाट क्षति पुगेका सरकारी कार्यालय र आवासीय संरचनाको मर्मत कार्यका लागि सम्झौता भई काम अघि बढिसकेको पनि स्पष्ट पार्नुभयो । पूर्वाधार पुनःनिर्माणलाई तीव्रता दिँदै सेवा प्रवाहलाई सहज बनाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो ।
बैठकको शून्य र विशेष समयमा उठाइएका विभिन्न समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए । वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले आ–आफ्ना मन्त्रालयसँग सम्बन्धित विषयमा सदस्यहरूको चासो सम्बोधन गर्नुभएको थियो ।
विधेयक पारितसँगै प्रदेशमा सडक विकाससम्बन्धी कानुनी आधार थप स्पष्ट र सुदृढ हुने विश्वास गरिएको छ । साथै, आगामी दिनमा पूर्वाधार निर्माणका कामलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।