जनकपुरधाममा गङ्गासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र

Author Logo..
२०८२ चैत्र १५ गते आइतवार

जनकपुरधाम, चैत १५ गते   मधेश प्रदेश सरकारको सक्रियतामा जनकपुरधामस्थित ऐतिहासिक र धार्मिक महत्त्व बोकेको गङ्गासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र बनाइएको छ।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा आइतबार पोखरी वरिपरि अवैध संरचना हटाउन डोजर प्रयोग गरिएको थियो। यो अभियान जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सहकार्यमा सञ्चालन गरिएको थियो। अभियानको मुख्य उद्देश्य लामो समयदेखि विवादमा रहेको गङ्गासागर क्षेत्रलाई पुनः व्यवस्थित गर्नु र सार्वजनिक सम्पत्ति संरक्षण गर्नु रहेको बताइएको छ।

अभियानको क्रममा स्थानीय प्रशासन, प्रहरी तथा नगर प्रहरीको उपस्थितिमा अतिक्रमित संरचना हटाइँदा केही स्थानमा सामान्य तनाव देखिएको थियो। गृह मन्त्री महतोले गङ्गासागर पोखरीको संरक्षण धार्मिक आस्थासँग मात्र नभई ऐतिहासिक पहिचान र पर्यटन प्रवर्धनसँग जोडिएको विषय भएको उल्लेख गर्दै प्रदेश सरकार सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर रहेको स्पष्ट पार्नुभयो। उहाँले आवश्यक परे अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने संकेत गर्नुभयो।

स्थानीयवासीले वर्षौँदेखि अतिक्रमणका कारण पोखरी क्षेत्र साँघुरिँदै गएको गुनासो गर्दै आएका थिए। पछिल्लो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने केही व्यवसायीले वैकल्पिक व्यवस्था बिना नै हटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारी स्रोतका अनुसार, पोखरी क्षेत्रको सफाई र व्यवस्थापन अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ। यसले धार्मिक र ऐतिहासिक महत्वसहित पर्यटन प्रवर्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार