
कोहलपुर, पुस ९ बैजनाथ गाउँपालिका–४ तिलकपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले सोमबार दिउँसो घरभित्र जुवातास खेलिरहेको सूचनाका आधारमा गरिएको नियन्त्रण अभियानमार्फत ५० वर्षीय चैतराम थारूसहित चारजनालाई पक्राउ गरिएको हो ।
राप्तीसोनारी गाउँपालिका–७ का ४५ वर्षीय लोकबहादुर घर्ति क्षेत्री, बैजनाथ गाउँपालिका–५ का ३० वर्षीय नविन हुसेन अली र जाजरकोट भेरी नगरपालिका–१ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका–१ बसोबास गर्दै आएका २९ वर्षीय गणेश शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा एसपी अंगुर जिसीले जानकारी दिए । उनीहरुले चैतरामको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनीहरूबाट जुवातासमा प्रयोग भएको ८ बुक तास र नगद २ लाख ७९ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । सो क्रममा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको र उनीहरूविरुद्ध जुवाताससम्बन्धी कानुनी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ । स्थानीय स्तरमा यस्ता गतिविधिले सामाजिक अनुशासन र सुरक्षा व्यवस्थामा असर पार्ने भएकाले नियन्त्रण अभियानलाई निरन्तर कडाइका साथ अघि बढाइने पनि प्रहरीले जनाएको छ ।
यसअघि पनि जिल्लाका विभिन्न स्थानमा जुवातास र अवैध क्रियाकलापविरुद्ध प्रहरीले अपरेसन सञ्चालन गर्दै आएको छ । पक्राउ परेका व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान भइरहेको र सबै कानुनी प्रक्रिया अनुसरण गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले जानकारी दिएका छन् ।