भीड नियन्त्रणसम्बन्धी तालिम सम्पन्न

Author Logo..
२०८२ मङ्सिर २३ गते सोमवार

बर्दिया, मंसिर २२  बर्दियाको गुलरिया नगरपालिका–४ स्थित बज्रदल गण सुरक्षा गुल्म गुलरियामा भिड नियन्त्रणसम्बन्धी संयुक्त व्यवहारिक अभ्यास सम्पन्न गरिएको छ । कार्यक्रममा बर्दिया जिल्ला प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

सुरक्षासम्बन्धी तयारी र समन्वय क्षमतालाई थप प्रभावकारी बनाउन आयोजना गरिएको उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रिय सहभागिता रहेको थियो । तीनै सुरक्षा निकायका संयुक्त टोलीहरूले भीड व्यवस्थापनका विभिन्न चरण, आकस्मिक अवस्थालाई कसरी सम्हाल्ने, तडक–भडक हुन सक्ने स्थितिमा सुरक्षाकर्मीको भूमिकाबारे व्यवहारिक ढंगले प्रदर्शन गरेका थिए ।

अभ्यासका क्रममा सम्भावित जोखिम कम गर्न सुरक्षाकर्मीहरूको मनोबल, तालीम र सहकार्य अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हमालले वर्तमान परिस्थितिमा सुरक्षाको चुनौती झनै जटिल हुँदै गएको बताउँदै तयारी र तालिममा कुनै कमी हुन नहुनेमा जोड दिए । उनले स्थानीय प्रशासन, सेना तथा दुवै सुरक्षा निकायबीचको दृढ समन्वयले शान्ति–सुरक्षा कायम राख्न महत्वपूर्ण प्रभाव पार्ने उल्लेख गरे ।

कार्यक्रमका अन्य सुरक्षाधिकारीहरूले पनि भीड नियन्त्रण केवल बल प्रयोगको विषय नभई मनोविज्ञान, परिस्थितिको सही विश्लेषण, अनुशासन र दक्षतापूर्ण व्यवहारसँग प्रत्यक्ष सम्बन्धित रहेको बताए । जनताको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै प्रत्येक सम्भावित अवस्थाका लागि सुरक्षा संयन्त्र तयार रहनुपर्नेमा सबैको जोड थियो ।
संयुक्त अभ्यासले सुरक्षाकर्मीहरूबीच आपसी तालीम आदान–प्रदान, कार्यशैलीमा एकरूपता र आकस्मिक अवस्थामा सहजरूपमा काम गर्न मद्दत पुर्‍याउने विश्वास लिईएको छ । सुरक्षा चुनौती बढिरहेको वर्तमान समयमा यस्तो अभ्यास नियमित रूपमा आवश्यक हुने अभिव्यक्ति सहभागीहरूले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार