ब्रेक नलाग्ने, लाइट नभएका र हर्न नबझ्‌ने अटो पनि निर्वाध सञ्चालन

Author Logo..
२०८२ कार्तिक १३ गते बुधवार

करिब ७० प्रतिशत अटो चलाउन अयोग्य

नेपालगन्ज, कात्तिक १२

नेपालगन्जको सडकमा तीन पांग्र्रे अटो रिक्साको आवाज गुन्जिन्छ, ‘टिक–टिक–टिक…।’ कार्यालय जान हतारमा रहेका कर्मचारीदेखि बजार पसलतिर लागेका व्यापारीसम्म, सबैका लागि यो सस्तो र सजिलो यातायात माध्यम बनेको छ । तर, यही सुलभ सवारी साधन अहिले सहरकै ठूलो समस्या बन्न थालेको छ । करिब ७० प्रतिशतभन्दा बढी अटो रिक्साहरू प्राविधिकरूपमा सञ्चालन योग्य छैनन्, तर तिनै अटो सडकमा हरेक दिन निर्बाधरूपमा दौडिरहेका छन् ।

नेपालगन्जको मुख्य चोक त्रिभुवन चोकदेखि वीपीचोक, धम्बोझी–सेतुविक चोक, धम्बोझी–पुष्पलाल चोक, घरबारी टोल, सदरलाइन, न्यूरोडलगायतका क्षेत्रमा दिनहुँ सयौँ अटो दौडिन्छन् । तीमध्ये धेरैको अवस्था हेर्दा डर लाग्छ । कुनैमा ब्रेक ठीकसँग काम गर्दैन, कतिपयमा साइड लाइटै छैन, कतिपयको हर्न बन्द छ । यस्तो अवस्थामा अटोले यात्रु मात्रै होइन, सडकमा हिँड्ने पैदल यात्रु र अन्य सवारी साधनका चालकलाई पनि जोखिममा पारिरहेका छन् ।

स्थानीय बासिन्दा राजु परियार भन्छन्, ‘अटो चालकले साइड हेर्दैन, सिधै बाटो काट्छ । बेलुकीतिर लाइट नै नबाले पनि चलेका हुन्छन् । कहिले ब्रेक काम नगरेर पछाडिका सवारी ठोक्किन्छन् ।’ यस्तो अवस्था नेपालगन्जका धेरै स्थानमा सामान्य बनेको छ । तर, आश्चर्यको कुरा, ‘यस अनियमितताको नियमन गर्ने कुनै निकाय जिम्मेवारीपूर्वक सक्रिय देखिँदैन ।’ नेपालगन्ज उपमहानगरपालिका मौन छ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि नदेखे झैं गर्छ । सवारी साधनका यान्त्रिक पक्ष जाँच गर्नुपर्ने प्रावधान भए पनि त्यसको कार्यान्वयन कमजोर छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक कनकबहादुर शाही पनि यो समस्या स्वीकार्छन् । उनी भन्छन्, ‘अव्यवस्थित अटो रिक्सा अहिले ठूलो चुनौती बनेको छ । कारबाही मात्रै समाधान होइन, यसका लागि सबै निकायले समन्वय गर्नुपर्छ । हामीले यान्त्रिक जाँच अनिवार्य गर्ने योजना बनाइरहेका छौं । अहिले योजना निर्माणको अन्तिम चरणमा छौं ।’ अटो रिक्सा सञ्चालनका लागि स्थानीय सरकारलाई स्पष्ट अधिकार भएकाले स्थानीय सरकार पनि यस विषयमा गम्भीर भएर लाग्नु पर्ने उनको भनाइ छ । उनका अनुसार नगर प्रमुख प्रशान्त विष्टले योजना निर्माणमा चासो देखाएका छन् । पछिल्लो समय चाडपर्व भएकाले योजना निर्माणमा केही ढिला भए पनि अब यसले पूर्णता पाउने उनी बताउँछन् ।

तर योजना र वास्तविकता बीचको दूरी अझै लामो छ । नेपालगन्जमा दैनिक सयौँ अटो रिक्साले यात्रु ओसार्छन्, तर तिनको नियमित प्राविधिक परीक्षण गर्ने व्यवस्था छैन । न त चालकहरूको तालिम व्यवस्थित रूपमा लिइन्छ, न त अटोको मर्मतसम्भारमा कसैको चासो देखिन्छ । परिणामस्वरूप, साना दुर्घटना दैनिकजसो भइरहेका छन् । कहिले ट्याक्सीमा ठोक्किने, कहिले साइकल वा मोटरसाइकल च्यापिने, कहिले पैदल यात्रु घाइते हुने ।

अटो चालकहरू पनि आफ्नो पक्षमा कारण देखाउँछन् । यात्रु पर्खिरहेका चालक हरि जैसी भन्छन्, ‘हामी पनि चलाउन डराउँछौं तर अटो पुरानो भइसकेको छ । मर्मत गराउन पैसा छैन । ग्राहक नचढे त पेट कसरी पाल्ने ?’ आर्थिक समस्याले गर्दा धेरै चालकले अटोको मर्मतमा ध्यान दिन सक्दैनन् । फलस्वरूप, सडकमा जोखिमपूर्ण अटो बढ्दै गएको छ । सहरका नागरिकले दैनिक जोखिम मोलिरहेका छन् । सडकको पेटीमा हिँड्दा पनि हर्न नहुने अटो अचानक घिस्रिँदै आउँछ, राति बिना लाइट अटोले बाटो काट्छ, अनि दुर्घटनाको बीउ रोपिन्छ ।

नेपालगन्जमा अहिले अटोको संख्यामा पनि नियन्त्रण छैन । जसले गर्दा ट्राफिक जाम, प्रदूषण र दुर्घटनाको जोखिम तीनै बढेको छ । ट्राफिक प्रहरीको भनाइ अनुसार, अबको चरणमा अटोको प्राविधिक परीक्षण अनिवार्य गरिनेछ । तर प्रश्न उस्तै छ, कति प्रभावकारी रूपमा त्यो कार्यान्वयन हुन्छ ? अटो चालकलाई सचेत बनाउने, तालिम दिने, र अटो मर्मतका लागि प्रोत्साहन दिने दीर्घकालीन योजना नआएसम्म समस्या जस्ताको तस्तै रहने देखिन्छ ।

नेपालगन्ज जस्तो सहरमा अटो रिक्सा आज जीविकाको साधन बनेको छ, तर त्यही साधन अहिले जीवनका लागि जोखिम पनि । सस्तो र सहज सवारीको नाममा नागरिकले आफ्नो सुरक्षा गुमाइरहेका छन् । योजना, नियम र नियमनका बीच सडकमा ती अयोग्य अटोहरू अझै दौडिरहेका छन्, यात्रुका साथ, जोखिमका साथ ।
अन्ततः प्रश्न यही हो, ‘नेपालगन्जका ती अटोहरू कहिले सुरक्षित हुने ?’

अटोको मुख्य समस्या
– ब्रेक नलाग्ने
– हर्न नबझ्‌ने
– साइट लाइन नबल्ने
– सवारी साधन अनुमति पत्र नभएका चालक
– कतिपय सवारी साधन दर्ता नभएका

ट्राफिक प्रमुखको पहिलो काम
नेपालगन्जको सडक अहिले एउटा खुला चुनौती बनेको छ, विशेष गरी नयाँ सरुवा भएर आएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका लागि । सडकमा हरेक दिन अनगिन्ती अटो रिक्साहरू दौडिन्छन्, जसको झन्डै ७० प्रतिशत प्राविधिक रूपमा अयोग्य छन् । यहाँ करिब पाँच हजारभन्दा बढी अटो रिक्सा सञ्चालनमा छन् । कुनैमा ब्रेक काम गर्दैन, कुनैमा साइड लाइट छैन, कतिपयको हर्न बिग्रिएको छ । यी सबै जोखिमपूर्ण सवारी साधनहरू सडकमा निर्वाधरूपमा गुडिरहेका छन्, र यही स्थिति अब शाहीको पहिलो ठूलो चुनौती हो ।

नेपालगन्जको सडक व्यवस्थापनको अवस्था कमजोर मात्र होइन, लगभग अराजक नै देखिन्छ । अनुगमनको कमी, स्थानीय निकायको निष्क्रियता, र ट्राफिक व्यवस्थापनमा कमीले गर्दा समस्या दिनदिनै जटिल बन्दै गएको छ । प्रहरी निरीक्षक शाहीले आफू सरुवा भएर आउँदा सामना गर्नुपर्ने प्रमुख चुनौती भनेको यही अव्यवस्थित अटो प्रणाली हो । जहाँ नियम छन्, तर पालनामा शून्य प्रतिबद्धता ।

ट्राफिक प्रहरीको भूमिका सामान्यतः नियमन र कारबाहीमा केन्द्रित हुने गर्छ । तर नेपालगन्जको अवस्था त्यसभन्दा गहिरो छ । यहाँको समस्या कारबाहीले मात्रै समाधान हुँदैन भन्ने कुरा शाही स्वयम् स्वीकार्छन् । उनले योजना निर्माणको अन्तिम चरणमा रहेको बताएका छन्, तर योजना लागू गर्नका लागि आवश्यक सहयोग, जनचेतना र प्राविधिक संयन्त्रको कमी ठूलो बाधक बन्न सक्छ । स्थानीय राजनीतिक दबाब, चालकहरूको विरोध र संस्थागत समन्वयको अभावले कुनै पनि सुधार योजना कार्यान्वयन गर्न कठिन बनाउने सम्भावना प्रबल छ ।

शाहीले नेतृत्व सम्हाल्ने बेला नेपालगन्जमा सडक दुर्घटनाका सानाठूला घटना दैनिकजसो भइरहेका छन् । अनियमित अटो सञ्चालन, ट्राफिक नियमको अवज्ञा र अत्यधिक सवारी घनत्वका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । यस स्थितिमा सुरक्षात्मक ट्राफिक संस्कृति विकास गर्नु उनको दोस्रो ठूलो चुनौती हो । यात्रु र चालक दुवैलाई सचेत बनाउने, नियमित प्राविधिक जाँचलाई अनिवार्य बनाउने, र कारबाहीलाई नीतिगतरूपमा लागू गर्ने कार्य उनीकै नेतृत्वमा कसरी अघि बढ्छ भन्ने कुराले उनको कार्यकालको मूल्यांकन गर्नेछ ।

नेपालगन्जमा अटो रिक्सा न केवल सवारी साधन हो, यो हजारौँ परिवारको रोजगारीको माध्यम पनि हो । त्यसैले कडा कारबाहीले सामाजिक असन्तोष निम्त्याउन सक्छ । यही कारण, शाहीलाई सन्तुलित नीति अपनाउनु पर्नेछ । जहाँ सुरक्षामा सम्झौता नहोस्, तर जीविकामाथि पनि प्रहार नहोस् । उनले चालकहरूलाई सहभागी गराएर, तालिममार्फत सचेतना फैलाएर र स्थानीय सरकारसँग सहकार्य गरेर समस्या समाधानको बाटो खोज्नुपर्ने हुन्छ ।

अर्को चुनौती भनेको प्रशासनिक स्तरमा विश्वास निर्माण गर्नु हो । उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय र निजी क्षेत्रबीचको तालमेल बिना सुधार सम्भव छैन । तर विगतमा यी निकायहरूबीच समन्वयको कमीले गर्दा धेरै योजना कागजमै सीमित भएका छन् । शाहीले यी संस्थालाई एउटै साझा लक्ष्यमा ल्याउन सके भने मात्र वास्तविक सुधार सम्भव हुनेछ ।

नेपालगन्जका सडकहरू आज सुरक्षा दृष्टिले जोखिमपूर्ण छन् । यस्ता अवस्थामा प्रहरी निरीक्षक कनकबहादुर शाहीका लागि यो कार्यक्षेत्र अवसर र चुनौती दुवै हो । अवसर, किनकि उनी सुधारको प्रक्रिया आरम्भ गर्न सक्ने नेतृत्वमा छन्, चुनौती, किनकि त्यसका लागि दृढता, समन्वय र जनसमर्थन आवश्यक छ । यदि उनले योजना कार्यान्वयन र जनसहभागिता सुनिश्चित गर्न सके भने, नेपालगन्जका ती अयोग्य अटोहरू पनि कहिले एक दिन सुरक्षित सवारीको प्रतीक बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार