
कञ्चनपुर, कात्तिक ११
कञ्चनपुरका आरक्षपीडितले वनको जमिन कब्जा गरेका छन् । साढे दुई दशकअघि विस्थापित पीडितले गत बुधबार कृष्णपुर नगरपालिका–१ पहरियास्थित जयशंकर सामुदायिक वनको जमिनमा बसेका हुन् ।
आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले २४ वर्षदेखि सरकारले पुनर्स्थापना गर्छु भन्दै झुक्याउँदै आएपछि आफूहरूले बाध्य भएर कुकाठवाला वनको जमिन कब्जा गरेर बसेको बताए । उनका अनुसार साढे दुई सयभन्दा बढी पीडित टहरा बनाएर बसेका छन् । उनीहरूले गत २२ साउनदेखि महेन्द्रनगर, वाणी, ढक्कामा धर्ना दिएका थिए ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले पुनर्स्थापनाका लागि जिल्लादेखि केन्द्रसम्म संघर्ष गर्दागर्दै पनि आफूहरूको न्यायका लागि कसैले चासो नदेखाएपछि बाध्य भएर जहाँ खाली छ, त्यहीँ बसेको बताए । संविधानमा हरेक नागरिकलाई भूमि तथा बसोबासको अधिकार भए पनि तत्कालीन सरकारले आफूहरूको उठीवास लगाएकाले अहिले आफ्नो अधिकारका लागि आफैँ लडेको उनीहरूको भनाइ छ । ०५८ मा तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएकाको हालसम्म पुनर्स्थापना हुन सकेको छैन ।
जयशंकर सामुदायिक वनले २४ घण्टाभित्र अतिक्रमित जग्गा छाड्न चेतावनी दिएको छ । वनका अध्यक्ष दामोदर भण्डारीले विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र वनको जमिन खाली गर्न चेतावनी दिएका हुन् । निकुञ्जबाट विस्थापितको पुनर्स्थापनाका लागि हालसम्म ३४ वटा आयोग गठन हुँदासमेत पीडितको समस्या जस्ताको तस्तै छ । डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विश्वेश्वरप्रसाद जोशीले सरकारी सामुदायिक वनको जमिन कब्जा गरेर बस्न नपाइने बताए ।