गाउँपालिकाका धेरै विद्यालयमा शिक्षक र विद्यार्थीबीचको अनुपात मिलेको छैन । कतिपय विद्यालयमा विद्यार्थीको चाप धेरै छ भने कतिपय दुर्गम विद्यालयमा शिक्षकको कमी छ । भौगोलिक कठिनाइ र यातायातको अभावले शिक्षकलाई टाढा गाउँमा जान अवरोध पुर्याउँछ । विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ र वडा शिक्षा समितिले अपेक्षित सक्रियता देखाउन सकेका छैनन् । मासिक बैठक नियमित नहुनु, अनुगमन र निगरानीको अभावले शिक्षा गुणस्तरमा प्रत्यक्ष असर पुर्याएको छ ।

राप्तीसोनारी, असोज ७
राप्तीसोनारी गाउँपालिका शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै आएको भए पनि यहाँको शैक्षिक अवस्था अझै चुनौतीपूर्ण छ । गाउँपालिकामा ७० वटा विद्यालय छन्, जसमा सामुदायिक विद्यालय ५४ र संस्थागत १६ छन् । त्यस्तै, बालविकास केन्द्र ७४, क्याम्पस २ र सामुदायिक सिकाइ केन्द्र ५ रहेका छन् । यहाँ करिब १८ हजार विद्यार्थी अध्ययनरत छन् । संरचनात्मक हिसाबले विद्यालयको संख्या पर्याप्त देखिए पनि शिक्षणसिकाइ प्रभावकारी हुन सकेको छैन ।
शिक्षा शाखाले केही दिन अघि यहाँका सबै विद्यालयमा स्थलगत अनुगमनसमेत गरेको छ । त्यतिबेला राप्तीसोनारीको शैक्षिक अवस्था गहिरोसँग अध्ययन गरिएको छ । गाउँपालिकाका धेरै विद्यालयमा शिक्षक र विद्यार्थीबीचको अनुपात मिलेको छैन । कतिपय विद्यालयमा विद्यार्थीको चाप धेरै छ भने कतिपय दुर्गम विद्यालयमा शिक्षकको कमी छ । भौगोलिक कठिनाइ र यातायातको अभावले शिक्षकलाई टाढा गाउँमा जान अवरोध पुर्याउँछ । विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ र वडा शिक्षा समितिले अपेक्षित सक्रियता देखाउन सकेका छैनन् । मासिक बैठक नियमित नहुनु, अनुगमन र निगरानीको अभावले शिक्षा गुणस्तरमा प्रत्यक्ष असर पुर्याएको छ । यसै कारण यहाँको शैक्षिक नतिजा केवल १५–१६ प्रतिशतमा सीमित छ । आगामी शैक्षिक सत्रमा ५१ प्रतिशत लक्ष्य राखिएको छ, तर यसलाई पूरा गर्न चुनौती ठूलो छ ।
स्थानीय विद्यार्थी सुष्मा थारु भन्छिन्, ‘हामी किताबमा पढेको कुरा बुझ्न गाह्रो हुन्छ । कतिपय विषयका शिक्षक लामो समय आउँदैनन् । पढाइभन्दा खेलकुदमा रमाउने साथीहरू बढी हुन्छन् । नतिजा कमजोर हुनुको कारण हामी विद्यार्थी मात्रै होइन, विद्यालयको वातावरण पनि हो ।’ विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने काम पनि पर्याप्त छैन । गरिबी, बालविवाह, बालश्रम, अभिभावकको बेवास्ता र ग्रामीण क्षेत्रमा शिक्षा प्रति कम प्राथमिकता जस्ता कारणले बालबालिका अझै विद्यालय बाहिर छन् । अभिभावक तेजबहादुर चौधरी भन्छन्, ‘गरिब परिवारका छोराछोरीलाई स्कुल पठाउन सजिलो छैन । खेतबारीमा काम गर्ने मान्छे छैन भने बच्चालाई पनि काममा लगाउनुपर्छ । पढाइको महŒव थाहा छ तर पेट पाल्न प्राथमिकता दिनुपर्छ ।’
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले पनि शिक्षा सुधारलाई प्राथमिकतामा राखेका छन् । उनका अनुसार शिक्षा क्षेत्रलाई माथि उठाउन नियमित सुपरिवेक्षण, कडाइका साथ अनुगमन र प्रत्येक सरोकारवालाले आफ्नो जिम्मेवारी निर्वाह गर्नु जरुरी छ । ‘विद्यालय व्यवस्थापन समितिदेखि वडासम्म सबै निकाय सक्रिय हुनुपर्छ । पालिकाले नीति र बजेटमार्फत सहयोग गर्नेछ,’ अध्यक्ष पौडेले बताए ।
शिक्षक व्यवस्थापनमा सुधार ल्याउन दुर्गम क्षेत्रका शिक्षकलाई प्रोत्साहन भत्ता, आवास सुविधा र कडाइका साथ स्थानान्तरण नीति लागू गर्न सकिन्छ । सिकाइ उपलब्धि बढाउन डिजिटल कक्षा, इन्टरनेटमार्फत शिक्षण सामग्री, शिक्षक तालिम र विद्यार्थीको सिर्जनात्मक अध्ययनमा जोड दिन आवश्यक छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन ‘एक घर एक विद्यार्थी’ अभियान जस्ता कार्यक्रम प्रभावकारी बनाउन सकिन्छ । राप्तीसोनारी गाउँपालिकाको शैक्षिक अवस्था समस्याग्रस्त भए पनि समाधान सम्भव देखिएको गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुले बताइन् । निरन्तर प्रयास, प्रतिबद्धता र सबै पक्षको सहभागिताले मात्रै राप्तीसोनारीको भविष्य उज्ज्वल बनाउन सक्ने उनको भनाइ छ ।
योजनाबद्ध प्रयास, सरोकारवालाबीचको सहकार्य र स्पष्ट कार्यान्वयन भए शिक्षा सुधारको लक्ष्य मात्र ५१ प्रतिशतमा सीमित रहँदैन, अझ माथि पनि पुग्न सक्छ । शिक्षा सुधार कुनै दिन दुई दिनमा सम्भव छैन । हालै गाउँपालिकाको शिक्षा शाखाले विद्यालयको स्थलगत अनुगमन गरेको थियो । शिक्षा शाखा प्रमुख मोहन बिसीले बताए, ‘हामीले विद्यालयको समस्या नजिकबाट हेरेका छौं । अब योजनालाई कागजमै सीमित नराखी कार्यान्वयनमा लैजाने तयारी गरेका छौं । शिक्षक तालिम, मासिक मूल्यांकन र अनुगमनलाई प्राथमिकतामा राखिनेछ ।’
विद्यालयको समस्या
– अधिकांश विद्यालयमा शिक्षण सिकाइ प्रभावकारी छैन ।
– भौगोलिक अवस्था
– पहुँचका आधारमा शिक्षक दुर्गम जान नमान्नु
– विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक संघ र वडा शिक्षा समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको ।
– विद्यार्थी–शिक्षक अनुपात नमिलेको
– सिकाइ उपलब्धि प्रभावकारी नभएको
– मासिक बैठक नियमित नभएको
– वडाबाट अनुगमन कम
– निगरानी नभएको
– विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन र शिक्षक सिकाइ प्रभावकारी भएको देखिँदैन
– अहिले यहाँको १५/१६ प्रतिशत शैक्षिक नतिजा छ
– चाुल शैक्षिक सत्रमा ५१ प्रतिशत लक्ष्य राखिएको छ ।