
कोहलपुर, असोज ६
समाचार र सूचनाको सत्य–तथ्य निरूपण तथा त्रुटि पहिचानमा जोडिएर अब्बल ‘फ्याक्ट–चेकर’को नाम बनाएका उमेश श्रेष्ठ ‘सालोक्य’ हाल मूलधारको पत्रकारिता बाहिर रहेर पनि सन् २००५ देखि ‘माइसंसार डट कम’ ब्लगमार्फत उत्तिकै चर्चित छन् । विगतमा ‘पहिलोपोस्ट’का सम्पादक रहिसकेका श्रेष्ठले ‘हु किल्ड निर्मला’ शीर्षकमा निर्मला पन्तको हत्या छानबिनसम्बन्धी अनुसन्धानमूलक शृंखला चलाएका थिए, जुन अनुसन्धानमूलक पत्रकारिताको मानक मानिन्छ । हालैको ‘जेनजी’ आन्दोलनका क्रममा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएको मिथ्या सूचना र नियामक निकायको अन्योलबारे पत्रकार प्रविता श्रेष्ठले उमेश श्रेष्ठसँग गरेको कुराकानीः
मिथ्या सूचनाको यति धेरै प्रयोग किन हुन्छ, यसको प्रभाव कस्तो होला ?
मिथ्या सूचना परम्परागत रूपमा चल्दै आएको ट्रेन्ड हो, यो चलिरहेकै छ । उदाहरणका लागि, महाभारतमा कहिले झूटो नबोल्ने भनिएका युधिष्ठिरले द्रोणाचार्यका छोरा अश्वत्थामाको निधन, रामायणमा एक धोबीले सीताको चरित्रमाथि उठाएको प्रश्नसँगै दिनुपरेको अग्निपरीक्षा सबै मिथ्या सूचनाका प्रकार हुन् । इन्टरनेट, सामाजिक सञ्जाल आएसँगै मिथ्या सूचना फैलिने गति अझ बढेको मात्रै हो । तर, यो अहिलेको मात्र समस्याजस्तो देखिए पनि सामाजिक सञ्जाल नहुँदा पनि मिथ्या सूचना फैलिरहेकै थियो ।
विगतमा ऋतिक रोशन काण्ड (२०००) हेर्न हो भने पनि त्यतिबेला सामाजिक सञ्जाल थिएन । ‘नेपालबारे भारतको अभिनेताले यस्तो भन्यो रे’ भनिएकै आधारमा त्यत्रो विध्वंस मच्चियो, मानिस मरे । बरु त्यसबेला सामाजिक सञ्जाल भएको भए त्यत्रो क्षति हुँदैन थियो होला । ऋतिक रोशनले आफ्नो सामाजिक सञ्जालबाटै हल्लाको तत्कालै स्पष्टीकरण दिन्थे होलान् । यसकारण मिथ्या सूचना फैलाउन सामाजिक सञ्जाल मात्रै दोषी छ भन्न मिल्दैन ।
त्यसो भए, अहिले डिजिटल दुनियाँलाई सामाजिक सञ्जालले भ्रमित वा मार्गनिर्देश के गरिरहेको छ ?
सोसल मिडियामा नराम्रो मात्रै छ भन्ने पक्षमा म छैन । यो आन्दोलन केही अघि भएको भए सायद अहिले जसरी सामाजिक सञ्जालमा भिडियो आउँदैन थिए होलान् । ती भिडियो मात्र होइनन्, प्रमाण पनि हुन् । नत्र वरपरका सीसीटीभीमा मात्र हुन्थ्यो होला । अहिले हरेक मानिसले खिचेका अनि सञ्जालमा राखेका भिडियो सार्वजनिक रूपमै उपलब्ध हुन्छ नै जुन डेटाबेसमार्फत खोजेर पत्ता लाग्न सकिन्छ । हरेक कुरामा राम्रो र नराम्रो दुवै पक्ष हुन्छ, हामीले राम्रोलाई पछ्याउने हो ।
उसो भए, मिथ्या सूचनाबाट कसरी बच्ने त ?
अन्य समयको तुलनामा संकटका बेलामा मिथ्या सूचनाको बाढी आउँछ नै । यस्तो बेलामा प्रयोगकर्ता पनि सचेत हुनुपर्छ । यसका लागि हामीले सूचना साक्षरता बढाउनुपर्छ । यस्तो बेलामा रिस, आक्रोश, आशा अथवा गौवान्वित गराउने खालका सूचना बढी फैलन्छन् । पुष्टीकरण पूर्वाग्रह (कर्न्फमेन्स बायस), इमोसनल–अपिल लगायतका यावत् कारण मानिसलाई धेरै मिथ्या सूचना सही लाग्न सक्छन् । त्यस्तोमा मानिसले आफ्नो विवेक प्रयोग गरिहाल्दैनन् । अनि मिथ्या सूचनाको पछि लाग्छन्, फैलाउँछन् । यस्तोमा आफूले पढिरहेको समाचार, सूचनालाई शंकाको दृष्टिकोणले पनि हेर्नुपर्छ ।
युट्युबमा पनि टेलिभिजनका अनेक समाचार आउँछन् । तर टेलिभिजनका समाचारभन्दा थम्बनेलमा उत्तेजक शीर्षक, दृश्य, समाचार पढेको शैलीमा पढिने युट्युब समाचारमा बढी भ्युज आइरहेका हुन्छन् । अहिले ज्येष्ठ नागरिकको पहुँच पनि युट्युबमा छ । उनीहरूलाई त्यही सामग्रीलाई समाचार भन्ठान्छन् । रिपोर्टिङ गरेका हिसाबले निर्मला पन्त बलात्कार तथा हत्या काण्डमा पनि निकै मिथ्या सूचना आए । म आफै फिल्ड रिर्पोटिङ गएपछि मात्र थाहा भयो मैले लेखेका, सुनेका कतिपय कुरा गलत रहेछन् भन्ने । मिथ्या सूचनाकै कारण मान्छेको मृत्युसम्म भयो निर्मला हत्या काण्डमा । निर्मला पन्तको हत्यारा अहिलेसम्म समात्न नसक्नुको एउटा कारण मिथ्या सूचना पनि हो ।
सञ्चार क्षेत्र मिथ्या सूचना प्रवाहबाट कसरी बच्न सक्छ ?
प्रथमतः स्रोतले दिएको सूचना भेरिफाइ(पुष्टि) हुनुपर्छ । कहिलेकाहीँ सरकारले दिएको सूचना पनि गलत हुनसक्छ । सरकारले आफ्नै हितका लागि त्यस्तो गर्ने गर्छ । देशको सीमाबाहिर पक्राउ परेको दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले राति नै सूचना जारी गर्यो । जबकि, अर्को दिन पक्राउ परेको सूचना प्रकाशित गर्यो । झलनाथ खनालकी श्रीमतीको मृत्युको सूचना अहिलेको सबैभन्दा बढी फैलिएको मिथ्या सूचना हो । सो समाचार हाम्रो सरकारी न्युज एजेन्सी राससले दिएको थियो । धेरै अनलाइनले त्यसैलाई साभार पनि गरे । भारतीय मिडियासमेतले त्यसरी नै प्रवाह गरे । यस्तो अवस्थामा उपचाररत अस्पतालको आधिकारिक भनाइ (कोट)मा विश्वास गर्ने कि नेता, नातेदार, परिवारको ?
यो हतार र संकटका बेलामा कहीँकतैबाट मिथ्या सूचनाको फ्याक्ट चेकिङ नभएको वा नदेखिएको हो ? यो अवस्थालाई कसरी बुझ्नुपर्ला ?
फ्याक्ट चेकिङ नभएको होइन । तर, मिथ्या सूचनाको बाढी यति आयो कि सीमित जनशक्तिले कति चेकजाँच गर्ने त्यो कुरा पनि आउँछ ।
फ्याक्ट चेकिङ गर्ने अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल फ्याक्ट चेकिङ नेटवर्क (आईफसीएन) छ । नेपालबाट फ्याक्ट चेक नेपाल एक मात्र त्यहाँ आबद्ध नेपाली संस्था हो । छिमेकी मुलुक भारतबाट पनि धेरै त्यसमा आबद्ध छन् । अहिले टेकपाना नामक अनलाइन न्युजर्पोटलले फ्याक्ट चेकिङ गरिरहेको छ । तर, यी दुईले यति धेरै मिथ्या सूचनाको फ्याक्ट चेक गर्न सक्लान् ? फ्याक्ट चेकिङ प्राविधिक विषय हो । प्रमाण नभए सही वा गलत भन्न गाह्रो हुन्छ । विष्णु पौडेलले कुटाइ खाएको विषय पौडेलले, ‘मैले कुटाइ खाएको होइन’ भन्दैमा मात्र प्रमाणित हुँदैन । प्रधानमन्त्री सुशीला कार्कीले ‘बंगारा झार्नुपर्छ’ भनेको कुरा प्रमाण छ/छैन थाहा हुनुपर्छ । फ्याक्ट चेकिङ मिथ्या सूचनाको काउन्टर होइन । फ्याक्ट चेकिङ भनेको मिथ्या सूचनाले बढी क्षति नगरोस् भनेर गर्ने काम हो । अर्को कुरा, प्रयोगकर्ताले सही कुरा थाहा भएपछि पनि सही सूचना फैलाउने अग्रसर देखिँदैन । तर, गलत कुरालाई ‘इमोसनल टिगर’ भएर पनि होला धेरै फैलाउँछन् ।
पाठक आफैले पनि मिथ्या सूचना कुन हो कुन होइन भनेर छुट्याउन सक्ने केही आधारभूत तरिका होला ?
प्राविधिक पाटोलाई छाडेर मिथ्या सूचनाको पहिचान गर्ने केही आधारभूत तरिका छन् । जस्तो आएको सूचनाले एकदम रिस उठ्यो, घृष्णा जाग्यो अथवा गौरवान्वित महसुस भयो भने त्यो पोस्ट क्लिक, लाइक, शेयर गर्नुअघि सोच्नुपर्छ । यस्ता सूचना कसले दिइरहेको छ भनेर पनि सोच्नुपर्छ । इन्फ्लुयन्सरले कति मिथ्या सूचना फैलाए त्यो पनि उदाहरण हो । मिडिया साक्षरताको कुरामा फरक पर्छ, मिडियाकै विषयमा पनि साक्षरता आवश्यक छ । अनलाइन न्युजर्पोटल यति धेरै छन्, आजकल कुनै वेबसाइटको डोमेन दर्ता गर्न केही गाह्रो छैन । बाइलाइन नभएका समाचारमा, स्रोत नभएको समाचारमा विश्वास गरिहाल्न हुँदैन । त्यस्तै, समाचारको शीर्षक पनि हेर्नुपर्यो । शीर्षक र समाचार मिल्छ/मिल्दैन त्यो अर्को कुरा हो ।
- फेक न्युज भनेको के हो ?
‘फेक न्युज’ शब्द अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक राष्ट्रपति हुँदा त्यहाँका मिडियालाई गाली गर्ने सन्दर्भमा प्रयोग गरेका थिए । नेपालमा पनि ‘फेक न्युज’ भन्ने गरिन्छ । फेक न्युज भनेर नेताहरूले मिडियालाई अविश्वसनीय बनाउने प्रयोग गर्ने हतियार हो । आफूलाई मन नपर्ने जति सबै फेक न्युज भनेर नेताहरूले मिडिया डिस्क्रेडिट(अविश्वसनीय) गर्ने काम हो । पत्रकारिताको सिद्धान्तअनुसार कुनै पनि गलत सूचना समाचार होइन । गलत हो भने त्यो समाचार बन्दैन । यसकारण फेक न्युज भन्ने शब्द हुँदैन । बेलायती सरकारले सन् २०१८ मा ब्यान्ड (निषेध) गरेको शब्द हो । युनेस्कोले पनि यो शब्द प्रयोग नगर्न भनेको छ । फेक न्युजको सट्टा सूचनाको चलखेल, मिथ्या सूचना वा अंग्रेजीमा ‘इनफोरसमेन डिसअर्डर’ भन्न सकिन्छ । यसको छाता शब्दलाई ‘मिसइन्फोरसमेन’ अर्थात् ‘मिथ्या सूचना’ भनिन्छ ।
मिथ्या सूचना रोक्न सरकारले कहिले विद्युतीय ऐन, त कहिले मिडिया विधेयक ल्याउन खोजिएको दाबी गरेको पाइन्छ, यो नियमन हो कि नियन्त्रण ! अहिले त नियन्त्रण गर्ने प्रयास भइरहेको छ । मुलुकी ऐनदेखि हालसम्म पनि मिथ्या सूचनासम्बन्धी कानूनहरू छन् । विद्यमान कानूनमै मिथ्या सूचनाका लागि दण्डसजायको व्यवस्था छ । यसका लागि सजाय नै दिनुपर्ने, जेल नै कोच्नु पर्छ भन्नेमा जानु हुँदैन । बरु सूचनाको साक्षरता बढाउनुपर्ने हुन्छ । मिडियाले कसरी काम गर्ने, सोसल मिडियामा मिडियाको पूर्वाग्रह कस्तो छ ? सोसल मिडिया ब्यान्ड गर्न खोज्दाको नतिजा अहिले देखियो ।
युट्युब, सामाजिक सञ्जालले मिथ्या सूचनाको तीव्र प्रसार गरेको भनिन्छ, वास्तविकता के हो ? व्यक्ति र सञ्चारमाध्यमको स्वतन्त्रता यिनै कारण हनन हुने पुगेका हुन् ?
इन्फ्लुयसरले गलत सूचना दिए, आमसञ्चार, सोसल मिडियाले मिथ्या सूचना दिए भनेर सामाजिक सञ्जाल ब्यान्ड गर्नुपर्ने स्थिति आयो । तर, प्रश्न प्रयोगकर्ताको रूपमा मात्र नभई सेवाप्रदायको पाटोबाट पनि सम्बोधन हुनुपर्ने देखिन्छ । तपाईंले जस्तो कन्टेन्ट हेरिरहनुभएको छ सोही अल्गोरिदमको हिसाबमा बाँकी कन्टेन्ट आउनथाल्छ । जस्तो कि, हिंसात्मक वा गलत सूचनामा मानिसहरूको एन्जेगमेन्ट हुन्छ भने त्यही आउन थाल्छ । त्यसमा रोक नै हुँदैन । किनकि फेसबुक, इन्स्टाग्राम अथवा टिकटकलगायतका सञ्जाललाई भ्युज आइरहेको हुन्छ । हामीले २ माघदेखि यही विषयमा अध्ययन अनुसन्धान गरिरहेका छौँ । हेट स्पिच र हिंसात्मक भिडियोबाहेकका मिथ्या सूचनामा यस्ता सञ्जालले प्रतिक्रिया जनाइहाल्दैनन् । हामीले गरेको रिपोर्टबाट दुई महिनामा जम्मा ३–४ वटा भिडियो मात्र हटाइए । मतलब नगरेको मान्छे, सामग्री आजकल सबै सामाजिक सञ्जालमा आइरहेको हुन्छ । यसमा धेरै इन्गेजमेन्ट हुने कारण हाम्रो सोसल मिडियामा नोटिफिकेसन आइदिन्छन् । टिकटकको यो अल्गोरिदमलाई अन्य सोसल मिडिया पनि अपनाएका हुन् । मिथ्या सूचना हटाउन यस्ता सोसल मिडिया प्रदायक हाम्रो देशप्रति जिम्मेवार/गम्भीर नभएको देखिन्छ ।
साभारः उकालो
ड्ड मिथ्या सूचना नयाँ होइनः महाभारत, रामायणदेखि ऋतिक रोशन काण्डसम्म मिथ्या सूचनाको परम्परा रहँदै आएको छ, सामाजिक सञ्जाल आएपछि यसको गति मात्र बढेको हो ।
ड्ड सामाजिक सञ्जालको दुवै पक्षः यसले मिथ्या सूचना पनि छरिन्छ, तर आन्दोलनका बेला प्रमाण स्वरूपका भिडियो सार्वजनिक गर्न सजिलो पनि हुन्छ ।
ड्ड संकटकै बेला मिथ्या सूचनाको बाढीः रिस, आक्रोश वा गौरवान्वित गराउने सूचना बढी फैलिन्छन्, जसलाई पुष्टीकरण पूर्वाग्रह र भावनात्मक अपिलले थप बल दिन्छ ।
ड्ड मिथ्या सूचनाको क्षतिः निर्मला पन्त हत्याकाण्डदेखि हालसम्म कैयौँ घटनामा मिथ्या सूचनाले अनुसन्धानमा अवरोध पुर्याएको छ ।
ड्ड स्रोत पुष्टि अनिवार्यः सरकारी सूचना समेत कहिलेकाहिँ गलत हुन्छ, अस्पताल वा आधिकारिक संस्थाको भनाइलाई प्राथमिकता दिनुपर्छ ।
ड्ड फ्याक्ट चेकिङको सीमितताः नेपालमा थोरै संस्था मात्रै सक्रिय भएकाले बाढीजस्तै सूचनाको प्रवाहलाई पूर्णरूपमा नियन्त्रण गर्न सक्दैनन् ।
ड्ड प्रयोगकर्ताको भूमिकाः– पाठक/दर्शकले सूचनाले भावनात्मक प्रतिक्रिया उत्पन्न गराएको छ भने सोचविचार गरी मात्र क्लिक, लाइक वा शेयर गर्नुपर्छ ।
ड्ड ‘फेक न्युज’ शब्दप्रति आपत्तिः यो राजनीतिक हतियारजस्तो प्रयोग हुने भएकाले युनेस्को र बेलायती सरकारले प्रयोग नगर्न भनेका छन्, ‘मिथ्या सूचना’ वा ‘मिसइन्फर्मेसन’ भन्न उपयुक्त हुन्छ ।
ड्ड कानूनीभन्दा बढी सूचना साक्षरता जरुरीः जेल सजायभन्दा बढ्ता सूचना साक्षरता अभिवृद्धि र सचेतना आवश्यक छ ।
ड्ड सोसल मिडिया कम्पनीको गैरजिम्मेवारीः युट्युब, फेसबुक, टिकटकले हिंसात्मक वा हेट स्पिचबाहेकका मिथ्या सूचनामा ध्यान नदिएकाले ती सामग्री हटाउन ढिलो हुन्छ र प्रयोगकर्ताको स्वतन्त्रतामा पनि असर पर्छ ।