
कोहलपुर, असोज २
सुर्खेतका पाँच राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटन गर्नु संवैधानिक सर्वोच्चता र संविधानमाथिको प्रहार रहेको बताएका छन् । सुर्खेतमा रहेका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन हुनु दुःखद भएको बताएका हुन् ।
संसद विघटन गरिएको घटनामा आफूहरूको गम्भीर असहमति रहेको नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले बताए । नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र सविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानविपरीतका कदमलाई कुनै पनि मूल्यमा स्वीकार गर्न नसकिने नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावतले बताए ।
विषम परिस्थितिमा मुलुकलाई एकताबद्ध बनाउँदै राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै एकजुट हुनुको विकल्प नरहेको राजनीतिक दलहरूको निष्कर्ष छ । आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति ऐतिहासिक धरोहर, राजनीतिक दलहरूका कार्यालय र व्यक्तिगत सम्पत्तिमा भएको आगजनी, तोडफोड, लुटपाट र हिंसाका घटनाहरूप्रति पनि दलहरूले निन्दा गरेका छन् ।