कोहलपुर, असोज २
मधेसको परिवेशलाई केन्द्रमा राखी लेखिएको चर्चित कथा संग्रह ‘बहुरुपी’ का लेखक श्रेयज सुवेदीलाई यस वर्षको ‘सनत रचना कथा सम्मान–२०८१’ प्रदान गरिने भएको छ । मध्यपश्चिम श्रष्टा समाज नेपालगन्जले नेपालगन्जमा असोज ६ गते आयोजना गरेको विशेष कार्यक्रममा सुवेदीलाई सम्मान गरिँदैछ ।
मानिसका विविध आयामलाई कथामार्फत प्रस्तुत गरिएको ‘बहुरुपी’ मा १५ वटा कथा समेटिएका छन् । यी कथाहरूमा सामाजिक भेदभाव, आर्थिक असमानता, सांस्कृतिक संघर्ष र मानवीय संवेदनाका बहुआयामिक प्रसंगहरू जीवन्त शैलीमा उतारिएका छन् । दृश्यप्रधान शैलीमा लेखिएका यी कथाहरूले पाठकलाई मधेसको सामाजिक र सांस्कृतिक धरातलसँग नजिक ल्याएको समीक्षकहरूको भनाइ छ । २०८१ सालमा प्रकाशित कथा संग्रहहरुमध्ये ‘बहुरुपी’ सर्वाधिक चर्चामा परेको कृति मानिन्छ । यही कारण यो पुस्तक प्रतिष्ठित मदन पुरस्कार को संक्षिप्त सूचीमा उत्कृष्ट सातभित्र पर्यो भने पद्मश्री साहित्य पुरस्कार को छानोटमा उत्कृष्ट १५ भित्र अटाउन सफल भएको थियो । छोटो अवधिमै व्यापक चर्चा कमाउन सफल यस कृतिले लेखक सुवेदीलाई नयाँ पुस्ताका सशक्त कथाकारका रूपमा परिचित गराएको छ ।
आयोजकका अनुसार उत्कृष्ट कथाकारलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको ‘सनत रचना कथा सम्मान’ यसपालि सुवेदीलाई प्रदान गर्न लागिएको हो । कार्यक्रममा साहित्य क्षेत्रका वरिष्ठ हस्ती, स्थानीय साहित्यकर्मी, लेखक, समीक्षक तथा साहित्यप्रेमीहरूको उपस्थिति रहनेछ । कार्यक्रम आयोजकले साहित्यलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गरिएको यस सम्मानमार्फत नेपाली कथालेखनको नयाँ धारलाई सम्मान गर्न खोजिएको बताएका छन् । सुवेदीको ‘बहुरुपी’ ले उठान गरेका विषयवस्तु आजको समाजका यथार्थसँग गाँसिएका कारण पाठक मनमा गहिरो प्रभाव पारेको आयोजक समितिको ठम्याइ छ ।