
कोहलपुर, असोज २
दुबईले नेपालीलाई भिजिट भिसाका लागि पूर्ण रूपमा बन्द गरेको छ । यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले सोमबारदेखि भिजिट भिसामा जान रोक लगाएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) मा भिसा आवेदन दिँदा भिजिट भिसा कोलममा नेपाल देखाउन छोडेको शुभयात्रा ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रदिप अधिकारीले बताए । ‘आइतबारसम्म नेपालीका लागि कोलम राखिएको थियो । तर त्यो दिन भिसा आवेदन दिएका सबै नेपालीको भिसा अस्वीकृत भएको थियो । तर भारतीयहरूको भने भिसा आयो,’ अधिकारीले भने, ‘भिसा दिन रोक लगाइएकोबारे कुनै कारण देखाइएको छैन । तर अहिले नेपालीले आवेदन नै दिन पाउँदैनन् ।’
युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा दिन बन्द गरिएकोबारे औपचारिक जानकारी नआएको बताए । उनले अहिलेको निर्णय केही समयको लागि हुनसक्ने बताए । दुबईले नेपालीलाई डिसेम्बरदेखि भिसा दिन बन्द जस्तै गरेको सेतोपाटीले समाचारमा उल्लेख गरेको छ । भिसा पाउने सम्भाभावना नभएपछि नेपालीहरूले युएईको शारजाह राज्यका लागि भिसा आवेदन दिने गरेका थिए । युएईको जुन राज्यका लागि भिसा लिए पनि सबै राज्य घुम्न पाइने भएकाले सहज भएको थियो । अब भने युएईकै लागि भिसा बन्द गरिएको शुभयात्राका सञ्चालक अधिकारीले बताए ।
युएईले भिसा बन्द गर्नुको पछाडि केही कारण रहेको बताइएको छ । पहिलो– नेपालीहरू भिजिट भिसामा जाने अनि उतै काम खोजेर बस्ने गरेका थिए । दोस्रो– भिजिट भिसामा गएर उतै गैरकानुनी तरिकाले समेत बस्ने गरेका थिए । जसलाई युएईले सुरक्षा चुनौतीका रूपमा लिएको थियो । तेस्रो– युएईलाई ट्रान्जिट बनाएर युरोप, अमेरिका जाने गरिएको थियो । सोही क्रममा थुप्रै नेपालीहरू ठगिएका समेत थिए । चौथो– भदौ २४ गतेको प्रदर्शनका कारण जेलबाट कैदीबन्दी भागेको र युएई आउन सक्ने आधार बनाएर भिजिट भिसामा रोक लगाएको हुन सक्छ ।