नगर अस्पतालबाट कोहलपुर नगरको सेवा प्रवाह

Author Logo..
२०८२ भाद्र ३१ गते मङ्गलवार

 


कोहलपुर, भदौ  ३१ 

अघिल्लो सोमबार र मंगलबार भएको जेन–जी पुस्ताको प्रदर्शनमा आगलागी भएको कोहलपुर नगरपालिकाको कार्यालयमा अब एक हप्तापछि सरसफाइको प्रक्रिया सुरु भएको छ । जनप्रतिनिधि, कर्मचारी र स्थानीय स्वयम्‌सेवकहरू कार्यालय सरसफाइमा लागेका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार, प्रदर्शनका क्रममा कार्यालयमा करिब ९५ प्रतिशतभन्दा बढी क्षति भएको थियो । उनका भनाइअनुसार, भवन जलेर क्षतिग्रस्त हुँदा कार्यालयमा प्रयोग हुने सबै भौतिक र प्रविधिसँग सम्बन्धित सामग्री नष्ट भइसकेको छ । यसैले कार्यालयको नियमित काम पुनः सुचारु गर्न तत्काल कदम चालिन आवश्यक भएको छ ।

सफाइ अभियानसँगै नागरिक सेवाको व्यवधान न्यून गर्ने उद्देश्यका लागि नगरपालिकाले नगर अस्पतालका केही कोठाहरू अस्थायी कार्यालयको रूपमा प्रयोग गर्न थालेको छ । गिरीले भने, ‘कार्यालयको पुनर्निर्माणमा समय लाग्ने भएकाले तत्कालका लागि नागरिकलाई सहज सेवा उपलब्ध गराउन अस्पतालको भवन प्रयोग गरिएको हो ।’ त्यस्तै, कार्यालयको अभिलेख र विवरण संकलन गर्ने जिम्मेवारी इलाका प्रहरी कार्यालय कोहलपुरले सम्हालेको छ । यसले भविष्यमा प्रशासनिक कामहरू पुनः सुचारु गर्न आधार तयार गर्नेछ ।

स्थानीयहरूका अनुसार, प्रदर्शनले नगरपालिकाको दैनिक जीवन र सेवा प्रवाहमा ठुलो असर पारेको थियो । नगरपालिकाका कर्मचारी र स्वयम्‌सेवकहरू बिहानदेखि कार्यालय परिसरमा खटिएका छन् । भवनमा जमेको फोहोर हटाउने, भत्किएका संरचनालाई अस्थायीरूपमा सुरक्षित गर्ने र कार्यालयको सामान्य कामकाज पुनः सुचारु गर्ने काम तीव्र गतिमा भइरहेको छ ।

जेनजी प्रदर्शनपछि नष्ट भएको कोहलपुर नगरपालिकाको कार्यालयको पुनःस्थापना र नागरिक सेवाको पुनर्सञ्चालन प्रक्रिया केही महिनासम्म चल्ने अनुमान गरिएको छ । तर, कर्मचारी, जनप्रतिनिधि र स्वयम्‌सेवकहरूको जुटानले स्थानीय प्रशासनले संकट व्यवस्थापनमा सक्षम रहेको देखाएको छ । कोहलपुरको यो प्रयासले संकटको घडीमा समुदाय र प्रशासनबीचको सहकार्यको महŒवलाई पुनः पुष्टि गरेको छ । भौतिक संरचना नष्ट भए पनि सेवा र प्रशासनिक कामहरू फेरि सुचारु गर्ने प्रतिबद्धता यस अभियानमा स्पष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार