
नेपालगन्ज, भदौ ३१
नेपालगन्जको बिहान तड्किँदा धेरै घरमा निद्रा हराएको अनुभव पाइन्छ । कारण एउटै, ‘चोरीको बढ्दो त्रास ।’ पछिल्ला दिनमा सहरका विभिन्न वडामा रातपछिको सन्नाटा चिर्दै अज्ञात समूहहरू पस्ने, ढोका फुटाउने, नगद वा सामान बोकेर भाग्ने घटनाले स्थानीयलाई असुरक्षित बनाएको छ । अझ अचम्म त तब भयो जब अज्ञात व्यक्तिले हिन्दी भाषामा धम्कीमूलक पर्चा टाँस्दै सार्वजनिक सन्देश दिए । ‘कहिलेसम्म सुत्दैनौ, सुते पनि नसुते पनि चोरी त गरेरै छाड्छौ, रोक्न सक्छौ भने रोक’ भन्ने वाक्यले स्थानीयलाई झन् आतंकित बनाएको छ ।
सामान्यतया चोरीका घटना शान्त तरिकाले हुने गरेका हुन्छन्, तर यसपटक चोरहरूले उल्टै चेतावनी दिएर चुनौती दिएको देखिन्छ । यसले नेपालगन्जको सुरक्षा संरचनामाथि प्रश्न उठाएको छ । स्थानीय बासिन्दा भन्छन्, ‘अब त चोर डराउने होइन, हामीलाई नै धम्की दिन थालेका छन् । प्रहरी गस्ती हुँदा हुँदै पनि चोरहरू खुलेआम पर्चा टाँस्छन्, यो भन्दा ठूलो चुनौती के हुन्छ ?’ शनिबार राति नेपालगन्ज–१९ मोहनपुरमा भएको घटनाले यस त्रासलाई अझ पुष्टि गर्यो । स्थानीयले चोरलाई लखेट्दा उनीहरू भारतीय नम्बर प्लेटको गाडीमा भागेका थिए । भारतसँग खुला सीमा भएको लाभ उठाउँदै चोर समूह नेपालगन्जमा छिरिरहेका छन् भन्ने शंका यस घटनाले थप बलियो बनाएको छ ।
चोरीका घटना सर्वाधिक नेपालगन्जका वडा नम्बर ११, ३, ४, ५, ८, २ र १ मा भइरहेका छन् । यी वडामा रातपख मानिसहरूले समूह बनाएर घरघरको चौकीदारी गर्ने, टोलमै भेला भई पहरा दिने गरेका छन् । ‘निद्रा हरायो, डरले बच्चाबच्चीलाई पनि राति सुताउन गाह्रो हुन्छ,’ वडानम्बर ५ का एक बासिन्दा सुनाउँछन् । व्यापारी समुदायमा पनि डर फैलिएको छ । बजार क्षेत्रका पसलेहरूले रातभरि पसलमा ताला लगाएर बस्ने वा सुरक्षा उपकरण जडान गर्ने गरेका छन् । कतिपयले प्रहरी चौकीमा गुनासो पोखे पनि तत्कालिक समाधान नभएको आक्रोश पोख्छन् । ‘चोरको डरले व्यवसाय नै संकटमा पर्न लाग्यो, प्रहरीलाई भन्नु त भन्यौं तर असर देखिएन,’ नेपालगन्जको त्रिवेणी चोकका एक व्यापारीले बताए ।
नेपालगन्ज न केवल बाँकेको मात्र होइन, प्रदेशकै प्रमुख व्यापारिक केन्द्र हो । यहाँको आर्थिक गतिविधि, बजार चहलपहल र सीमा व्यापारले हजारौं नागरिकको जीवन निर्भर छ । यस्तो अवस्थामा चोरीका घटनाले न त नागरिक सुरक्षित छन्, न व्यापारी निश्चिन्त । स्थानीय प्रहरी प्रशासनले गस्ती बढाएको दाबी गरे पनि चोरहरू नियन्त्रणमा आउन सकेका छैनन् । सीमावर्ती क्षेत्र भएकै कारण नियन्त्रण अझ जटिल बनेको हो । राती चोरी गरी बिहानै गाडीमा फर्किने चोरहरूलाई पक्रन सुरक्षाकर्मीलाई कठिन भएको स्थानीय स्रोतको भनाइ छ । त्यसमाथि अज्ञात पर्चा टाँस्ने शैलीले यो घटनालाई केवल ‘सामान्य चोरी’ नभई योजनाबद्ध अपराधजस्तो देखाएको छ ।
यस्तो अवस्थामा नेपालगन्जका नागरिकले आत्म–सुरक्षाको उपाय अपनाउन थालेका छन् । कतिपय वडामा रातीका लागि सामुदायिक प्रहरी वा स्वयंसेवक परिचालन गर्नुपर्ने आवाज उठ्न थालेको छ । वडास्तरीय बैठक, नागरिक–प्रहरी संवाद र समूहगत सुरक्षा सचेतना कार्यक्रमको माग बढ्दै गएको छ । तर यति मात्र पर्याप्त छैन । सीमा क्षेत्रको निगरानी कडा नगरी चोरी नियन्त्रण सम्भव छैन भन्ने स्थानीयको ठम्याइ छ । नेपाल–भारत दुवै पक्षले संयुक्त सुरक्षा योजना बनाउनुपर्ने आवश्यकता देखिन्छ । यदि यसतर्फ गम्भीर पहल भएन भने चोरीको त्रासले नेपालगन्जको सामाजिक जीवन, व्यापारिक वातावरण र मानिसको मनोबललाई दीर्घकालीन असर गर्ने संकेत स्पष्ट भइसकेको छ ।
नेपालगन्जमा टाँसिएका धम्कीपूर्ण पर्चाले के सन्देश दिन खोजेको हो भन्ने प्रश्न अझै अनुत्तरित छ । तर यसको प्रत्यक्ष प्रभाव स्थानीयको जीवनमा देखिन थालेको छ—आतंक, असुरक्षा र भरोसाको कमी । अबको चुनौती सुरक्षा निकायले चोरलाई समातेर मात्र होइन, नागरिकको विश्वास फर्काउने गरी ठोस कदम चाल्न सक्ने कि नसक्नेमा केन्द्रित छ ।