
नेपालगन्ज, भदौ २७
शुक्रबार नेपाल पत्रकार महासंघ बाँके र नेपाल बार एसोसिएसनको अगुवाइमा, शान्ति र लोकतन्त्रका लागि पेशागत संगठन (पापड) सहित विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा मौन प्रदर्शन गरिएको हो । सहभागीहरूले ‘राष्ट्र जोगाऔं, संविधान जोगाऔं’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले केन्द्रीय सर्कुलरअनुसार देशभरै संविधानको रक्षाका लागि मौन प्रदर्शन भइरहेको बताए । त्यस्तै, नेपालगन्ज उच्च अदालत बारका अध्यक्ष चित्रबहादुर शाहीले जेनजी आन्दोलनपश्चातको परिस्थितिले सात दशक लामो जनआन्दोलनको बलिदानबाट प्राप्त उपलब्धि गुम्ने जोखिम बढेको भन्दै मौन प्रदर्शनमार्फत त्यसको संरक्षण गर्न आवाज उठाइएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं, बाँके जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष मेहर सिंह खत्री, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, प्राध्यापक संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, नेपाल शिक्षक महासंघ बाँकेका उपाध्यक्ष शेखर रावत, नेपाल चिकित्सक संघका सदस्य डा. राहुल कुर्मी, वरिष्ठ अधिवक्ता विजयकुमार गुप्तालगायत अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, पत्रकार तथा विभिन्न पेशागत संघसंगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।