
जेन–जी आन्दोलनको उग्र रुपपश्चात् बाँकेको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र नेपालगन्जमा लुटपाट मच्चिएको छ । आन्दोलनका क्रममा कार्यालय र पार्टी कार्यालयमा भएको आगलागीपछि त्यहाँ बाँकी रहेका सामान लुटिने क्रम सुरु भएको हो ।
स्थानीयका अनुसार आगलागीपछि धुवाँ कम हुँदै जाँदा रातिको अन्धकारमा अवसर पर्खिरहेका लुटेराहरु समूह बनाएर कार्यालयतर्फ पुगेका थिए । उनीहरुले जलिरहेका कागजात, फर्निचर र इलेक्ट्रोनिक सामग्री उठाएर लगेका छन् । लुटपाटमा केही भारतीय नागरिकसमेत संलग्न रहेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ । विशेषगरी नेपालगन्जको उच्च सरकारी वकिलको कार्यालयमा गएराति ठूलो संख्यामा लुटपाट भएको छ । आगलागीबाट जलेर बाँकी रहेका कम्प्युटरका पार्टस, फर्निचर र अन्य सामग्री निकाल्ने क्रममा संलग्न व्यक्तिबाट भारतीय आधार कार्ड फेला परेको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले उक्त कार्डसहितका प्रमाण संकलन गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका मोटरसाइकलसमेत चोरी भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयदेखि दलका पार्टी कार्यालय, आन्तरिक राजश्व कार्यालय, तथा अन्य सरकारी संरचनामा प्रदर्शनकारीले आगजनी गरेका थिए । यिनै घटनाको फाइदा उठाउँदै लुटपाट गर्ने गिरोह सक्रिय भएको हो । आगलागी भएका कार्यालय क्षेत्रमा भीड जम्मा भई मानिसहरुले सामान निकाल्ने क्रम तत्काल रोक्न नसकिएको स्थानीयले बताएका छन् । मोबाइलमा खिचिएका भिडियोका आधारमा संलग्नको पहिचान गरी उनीहरुलाई नियन्त्रणमा लिनुपर्ने स्थानीयको भनाइ छ । ‘हामीलाई भारतीय नागरिक संलग्न भएको प्रमाण भेटिएको छ । उच्च सरकारी वकिल कार्यालयमा संलग्न एक व्यक्तिले आफ्नो भारतीय आधार कार्ड खसालेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘यसले लुटपाट योजनाबद्ध ढंगले सीमा पारिबाट समेत संलग्नता हुनसक्ने देखाएको छ ।’
नेपाल–भारत खुला सीमाका कारण यस्ता गतिविधि बढ्ने जोखिम विशेषज्ञहरुले औंल्याएका छन् । सीमा सुरक्षा कडा पारिए पनि जनआन्दोलन वा ठूलो भीड हुने बेला सीमापारिबाट अपराधी तत्व प्रवेश गर्ने गरेको देखिन्छ । यसअघि पनि नेपालगन्जमा हुने ठूला आन्दोलनका बेला भारतीय नागरिक संलग्न भएको आरोप लाग्ने गरेको थियो ।