
जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र टायर दहनका कारण अस्तव्यस्त बनेको नेपालगन्जका मुख्य सडक बुधबार बिहान युवाहरुले सरसफाइ गरेका छन् । आन्दोलनपश्चात् धमिलो धुलो, जलेका टायरका अवशेष र भत्किएका संरचनाको कारण सहरको रुप फेरिएको बेला युवाहरु नै सडकमा उत्रिएर सफाइमा जुटेका हुन् ।
धम्बोझी, वीपी चोक, पुष्पलाल चोकलगायतका क्षेत्रमा आन्दोलनकै क्रममा टायर बालिँदा बाक्लो धुवाँ र कालिख जमेको थियो । त्यस्तै, केही संरचना तोडफोड हुँदा सडकमा फोहोर र ढुंगामाटो समेत थुप्रिएको थियो । यिनै अवशेष हटाउन बुधबार बिहानैदेखि युवाहरु समूह बनाएर सडकमा उत्रिएका थिए । उनीहरुले कुचो, डोको र पानी प्रयोग गरेर टायरको कालिख पखाल्ने, ढुंगामाटो हटाउने र सडक सफा गर्ने काम गरे । सडक सफाइमा संलग्न युवाहरुले आन्दोलनले समाजमा अस्वस्थ वातावरण सिर्जना गरेकाले त्यसलाई सुधार्ने जिम्मा पनि आफ्नै पुस्ताले लिनुपर्ने महसुस भएको बताए । स्थानीय बासिन्दाले युवाहरुको यस कदमलाई सराहना गरेका छन् । आन्दोलनपश्चात् शहरमा डर र निराशा फैलिएको बेला युवाहरुले देखाएको सक्रियताले सकारात्मक सन्देश दिएको उनीहरुको भनाइ छ । सरसफाइसँगै सडकमा सामान्य चहलपहल सुरु भएको छ भने व्यापार व्यवसायमा समेत केहीगतिले फिर्ता आउने संकेत देखिएको छ ।
नेपालगन्जका विभिन्न चोकमा देखिएको यो पहलले आन्दोलनको नकारात्मक छापलाई केही हदसम्म कम गर्ने र सामाजिक सहकार्यको भावना बलियो बनाउने अपेक्षा गरिएको छ ।