‘जेनजी’ प्रदर्शन : सुर्खेतमा सरकारी/निजी सम्पत्तिमा आगजनी र तोडफोड

Author Logo..
२०८२ भाद्र २४ गते मङ्गलवार

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा पनि ‘जेनजी’ प्रदर्शनले प्रभाव पारेको छ । आन्दोलनको क्रममा राजनीतिक दलका कार्यालयदेखि सरकारी निकाय तथा नेताहरूको निजी निवाससम्ममा आगजनी र तोडफोड गरिएका छन् । आन्दोलन हिंसात्मक बन्दै जाँदा प्रशासनले नियन्त्रणमा लिन फायर समेत गरेको थियो ।

प्राप्त विवरणअनुसार, वीरेन्द्रनगरमा रहेका कांग्रेस, एमाले र माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरिएको छ । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, सरकारी वकिल कार्यालय, नापी कार्यालय, कर्णाली प्रदेशसभा भवन लगायतका निकायहरूमा पनि तोडफोड र आगजनी भएको छ ।

आन्दोलनकारीहरूले कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको वीरेन्द्रनगरस्थित निवासमा आगजनी र तोडफोड गरेका छन् ।

त्यस्तै, मुख्यमन्त्री यामलाल कँडेलको सरकारी निवास तथा वीरेन्द्रनगर–४ मा रहेको भैरवस्थानस्थित निजी निवासमा समेत तोडफोड र आगजनी गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–६ को वडा कार्यालय भवन, सिटीहल, तथा उपप्रमुख नीलकण्ठ खनालको निजी निवासमा समेत क्षति पुर्‍याइएको छ ।

हिंसात्मक घटनामा परी हालसम्म १२ जना प्रहरी घाइते भएका छन् भने एकजना आन्दोलनकारी घाइते भएको जानकारी प्राप्त भएको छ । सुरक्षाकर्मीहरूलाई अझै सतर्क बनाइएको छ भने स्थिति नियन्त्रणमा लिन मंगलबार बेलुका ४ः३० बजेदेखि कर्फ्यु लगाइएको छ ।

स्थानीय प्रशासनले परिस्थितिलाई नियन्त्रणमा लिन प्रयासरत रहेको बताएको छ भने आन्दोलनकारीहरूलाई संयमित रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार