
राँझा (बाँके) । नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा तलाउबीच भागमा रहेको जुँगे महादेवको मन्दिर पुनर्निर्माण गरिएको छ । मन्दिर पुनर्निर्माण भएपछि यहाँ भक्तजनको चहलपहल बढेको छ ।
साँघुरो र जीर्ण अवस्थामा रहेको जुँगे महादेवको मन्दिर र पुललाई नेपालगञ्ज उपमहानगरपालिकाले पुनः निर्माण गरेको हो । अहिले मन्दिरमा पूजा आजा गर्न आउने भक्तजनको संख्या बढ्दै गएको छ । यहाँ साँघुरो पुललाई फराकिलो बनाइएको छ । अब फराकिलो पुल बनेका कारण दर्शन गर्न सजिलो भएको नेपालगन्ज–२१ फुल्टेक्राकी सिर्जना थापाले बताए । उनले भने, ‘पहिला पूजा गर्न लामो समय लाइन लाग्नुपर्थ्यो अब त्यो समस्या हटेको छ ।’ पहिला साँघुरो र
कमजोर भइसकेको पुल हुँदै मन्दिर पुग्नुपर्ने अवस्था थियो । अहिले धेरै भक्तजनले एकैपटक दर्शन गर्न पाएका छन् ।
अहिले बागेश्वरी मन्दिर आउने झक्तजनले जुङ्गे महादेवको दर्शन गर्न थालेका बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले बताए । आकर्षक शैलीको जुँगे महादेवको मन्दिरमा अहिले भक्तजनको चहलपहल बढेको उनको भनाइ छ । दर्शनार्थीलाई आउने र जाने गरी डोरी बाँधेर अलग–अलग बाटो बनाइएको छ । बागेश्वरी मन्दिरमा दैनिक भक्तजनको घुइँचो लाग्छ । पहिला सीमित व्यक्तिलाई मात्रै जान दिएर जुँगे महादेवको पूर्जा गर्न दिने गरिएको थियो। विसं २०७८ साउनमा पुल जोखिमपूर्ण बनेको भन्दै मन्दिरको प्रवेशद्वारमा पूजाआजाको व्यवस्था मिलाई महादेवको मूर्तिसम्म पुग्न रोक लगाइएको थियो । भक्तजनको पुल पुनः निर्माण हुनुपर्ने मागलाई ध्यानमा राखेर २०७९ सालदेखि निर्माणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताउनुभयो । उहाँका अनुसार, करिब एक करोड नौ लाखको लागतमा मन्दिर पुनः निर्माण गरिएको हो । रासस