नेपालगन्ज, भदौ १९
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले पर्यटकको सहज आवागमनका लागि मन्त्रालयले पहल गरे पनि प्रभावकारी हुन नसकेको धारणा व्यक्त गरेका छन् । सुरक्षाका नाममा जथाभावी सुरक्षाकर्मीले पर्यटकलाई दुःख दिइरहेको भन्दै यसले पर्यटकको सहज आवागमनमा असर पुर्याउने बताएका हुन् ।
सुरक्षा चेकजाँचका नाममा पर्यटकले अनावश्यक दुःख पाइरहेको गुनासो आएको उनको भनाइ छ । ‘पर्यटकलाई यो वा त्यो बहानामा अनावश्यक दुुःख दिने गरिएको कुरा पटकपटक सुनिँदै आएको छ,’ उनले भने, ‘यसले यहाँको पर्यटन क्षेत्रलाई नै नकारात्मक प्रभाव पार्छ ।’ यसको समाधानका लागि सुरक्षा निकायका अधिकारीसँग पटकपटक छलफल गरे पनि सुरक्षा निकायले पहल नगरेको उनको आरोप छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटन अन्तरसम्बन्ध खोज्ने उद्देश्यले नेपालगन्जमा बिहीबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले भने, ‘जमुनाह, बेलरी नाकाबाट आउने पर्यटकले नेपाल प्रवेश गर्नासाथ बाटोभरि चेकजाँचका नाममा दुःख पाएका छन् । मैले सुरक्षाकर्मीका उच्च अधिकारीहरुसँग पनि सहजताका लागि छलफल गरेको छुँ,’ उनी भन्छन्, ‘सुरक्षाकर्मीले हुन्छ भनेर प्रतिबद्धता जनाउनु हुन्छ । तर, कार्यान्वयन हुँदैन । नियतनै ठिक नभएपछि गाह्रो हुँदो रहेछ ।’
उनले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रले नै अगुवाई गर्नुको विकल्प नभएको बताए । तर त्यसका लागि निजी क्षेत्रले वातावरण बनाउनु पर्ने बताए । लुम्बिनी प्रदेश पर्यटकीय सम्भावनाले अत्यन्तै प्रचूर सम्भावना बोकेको प्रदेश भएकाले निजी क्षेत्रले गर्ने लगानीमा मन्त्रालयको सहयोग हुने विश्वास दिलाए । उनले पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न नसक्दा पनि सोचे जस्तो पर्यटकहरु भिœयाउन नसकिएको उनको भनाइ छ । उनले प्रदेशस्तरीय समन्वय अभावमा पर्यटकहरुको बसाइँ लम्ब्याउन नसकिने बताए । उनले भने, ‘पर्यटकहरु भिœयाउन र उनीहरुको बसाइँ लम्ब्याउन अन्तर प्रदेशबीच समन्वय र सहकार्य जरुरी छ । लुम्बिनी र गण्डकी प्रदेशबीच भएको यो अन्तरक्रियाले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउँछ भन्ने विश्वास छ ।’
उनले पर्यटन प्रवद्र्धनका लागि रैथाने खाना र स्थानीय कला संस्कृतिलाई जोड दिनुपर्ने बताए । उनले पर्यटन प्रवद्र्धनका लागि लगानी आवश्यक रहेको बताए । केन्द्र र प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा लगानी गर्नै नसकेको समेत स्वीकार गरे । यस्तै लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले नेपालमा भारतीय पर्यटन प्रवद्र्धनका लागि आवागमनमा सहजता जरुरी रहेको बताइन् । उनले लुम्बिनी प्रदेश पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै सम्भावनायुक्त ठाउँ भएकाले भारतीय पर्यटकहरुको आवागमनलाई सहज बनाउन आवश्यक रहेको बताइन् । बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, गौतमबुद्ध जन्मस्थललगायतका चर्चित स्थल पनि लुम्बिनी प्रदेशमै रहेकाले पर्यटकको ठूलो सम्भावना रहेको उनको भनाइ छ । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख रुद्रराज गुरुङ, नाट्टा पाल्पा च्यापटरका अध्यक्ष राजिव शाह, नाट्टा लुम्बिनी च्यापटर अध्यक्ष श्रीराम सिक्देल, नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका महासचिव भिमबहादुर रानाभाटलगायतले बोलेका थिए।