प्रत्येक वडामा उपलब्ध ९५ लाख बजेटबाट वडास्तरमा साना तथा मझौला पूर्वाधार आयोजना, सडक मर्मत तथा निर्माण, खानेपानी आयोजना, कृषि तथा पशुपालन प्रविधिको प्रवद्र्धन, स्वास्थ्य चौकी सुधार, विद्यालय स्तरोन्नति, सीप विकास तालिम तथा स्थानीय उत्पादनमा आधारित उद्योग प्रवद्र्धनका कामहरू प्राथमिकतामा पर्नेछन् ।
राप्तीसोनारी, भदौ १७
आर्थिक वर्ष २०८२/०८३ का लागि राप्तीसोनारी गाउँपालिकाले ८ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ । बजेट विवरणअनुसार गाउँपालिकाभित्रका सबै ९ वटा वडामा समानरूपमा ९५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो ।
गाउँपालिकाले यसपटक सबै वडामा समान बजेट वितरण गर्दै समावेशी विकासको सन्देश दिएको छ । गाउँपालिकाको नेतृत्वद्वारा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार सबै वडालाई समान अवसर प्रदान गर्दै विकासका गतिविधिहरू सन्तुलितरूपमा अघि बढाउन यो व्यवस्था गरिएको हो । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले जनताको समान पहुँच सुनिश्चित गर्न र सबै वडामा पूर्वाधार, सेवा र सुशासनको पहुँच विस्तार गर्न समान बजेट वितरण गर्न आवश्यक रहेको बताए । ‘अघिल्ला वर्षहरूमा केही वडामा बढी बजेट जान्थ्यो, केही वडामा कम । यसले असन्तुलन सिर्जना गर्थ्यो । यसपालि हामीले समान वितरणको नीति लिएका छौं,’ गाउँपालिका अध्यक्ष पौडेलले भने ।
बजेट विनियोजनमा वडास्तरका आवश्यकता, जनघनत्व, भौगोलिक अवस्था र विकासका सम्भावनाहरूलाई पनि ध्यानमा राखिएको जनाइएको छ । यद्यपि, गाउँपालिकाको नेतृत्वले यसपटक वडागत बजेटमा समताको दृष्टिकोणबाट सबै वडालाई समानरूपमा ९५ लाख विनियोजन गरेर प्रत्येक वडालाई स्थानीय आवश्यकता अनुसार योजनाहरू कार्यान्वयन गर्न स्वतन्त्रता प्रदान गरेको छ । यस वर्षको बजेट शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवा सुदृढीकरण, कृषि तथा पशुपालन प्रवद्र्धन, युवा तथा महिला सशक्तिकरण, स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षालगायतका क्षेत्रमा केन्द्रित रहने जनाइएको छ ।
प्रत्येक वडामा उपलब्ध ९५ लाख बजेटबाट वडास्तरमा साना तथा मझौला पूर्वाधार आयोजना, सडक मर्मत तथा निर्माण, खानेपानी आयोजना, कृषि तथा पशुपालन प्रविधिको प्रवद्र्धन, स्वास्थ्य चौकी सुधार, विद्यालय स्तरोन्नति, सीप विकास तालिम तथा स्थानीय उत्पादनमा आधारित उद्योग प्रवद्र्धनका कामहरू प्राथमिकतामा पर्नेछन् । गाउँपालिकाले प्रत्येक वडाबाट प्राप्त योजनाको माग, वडाको विकास अवस्था तथा चालु योजनाको अवस्था हेरेर बजेट कार्यान्वयनमा मार्गदर्शन गर्ने बताइएको छ । वडास्तरमै योजना छनोट, कार्यान्वयन र अनुगमनको जिम्मेवारी दिइएकाले स्थानीय तहको भूमिकालाई अझ सशक्त बनाउने प्रयास गरिनेछ ।
वडाध्यक्षहरू भने बजेट वितरणको यो अभ्यास सकारात्मक भएको प्रतिक्रिया दिइरहेका छन् । पालिका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष मिनराज खड्काका अनुसार, ‘यसपटक पहिलोपटक सबै वडालाई बराबरी बजेट आयो । अब हाम्रो जिम्मेवारी हो यस बजेटलाई सही ठाउँमा लगानी गर्ने, जनताको अपेक्षा अनुसार नतिजा निकाल्ने ।’ गाउँपालिकाले बजेट पारदर्शी र प्रभावकारीरूपमा कार्यान्वयन गर्न स्थानीयस्तरमा अनुगमन समिति गठन गर्ने, नागरिक सहभागिता सुनिश्चित गर्ने र बजेट कार्यान्वयनमा सार्वजनिक सुनुवाई र सामाजिक परीक्षणको प्रक्रिया अवलम्बन गर्ने तयारी समेत गरेको छ ।
स्थानीयस्तरमा बजेटको प्रभावकारिता सम्बन्धमा नागरिकहरू पनि सकारात्मक देखिएका छन् । वडा नम्बर ७ की एक स्थानीय महिलाले भनिन्, ‘हामी धेरै वर्षपछि हाम्रो वडामा केही काम हुने आशा गरेका छौं । बजेट आयो भन्ने सुन्यौं, अब काम होस् भन्ने चाहना छ ।’ पछिल्ला वर्षहरूमा वडागत बजेटमा ठूलो असमानता रहेको गुनासो आइरहेको अवस्थामा यस वर्षको समान वितरणको निर्णयलाई धेरैले स्वागत गरेका छन् । विगतमा कतिपय वडामा आवश्यक बजेट अभावले विकासका काम ठप्प हुने, योजना अलपत्र पर्ने जस्ता समस्या देखिएको थियो ।
अब भने गाउँपालिकाले नीति नै समतामूलक विकासमा आधारित बनाएकाले योजना कार्यान्वयनमा पनि समन्वय र समावेशिता देखिने अपेक्षा गरिएको छ । गाउँपालिकाले आगामी दिनमा वडागत बजेटको कार्यान्वयन अवस्थामाथि नियमित समीक्षा र मूल्यांकन गर्ने योजना समेत बनाएको छ । योजनाको छनोटदेखि कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रिया सूचना प्रवाह र सार्वजनिक सहभागितामा आधारित बनाउने जनाइएको छ । यसबाट बजेट खर्च पारदर्शी, उत्तरदायी र जनमुखी हुने अपेक्षा गरिएको छ । यसैबीच, गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले भने, ‘समान बजेट मात्र विकासको आधार होइन । योजनाको गुणस्तर, कार्यान्वयनको क्षमता र जनताको सहभागिता अझ महŒवपूर्ण हुन्छ । हामीले यी सबै पक्षलाई सन्तुलित ढंगले अघि बढाउने योजना बनाएका छौं ।’
यो आर्थिक वर्षको वडागत बजेट वितरण प्रणालीले राप्तीसोनारी गाउँपालिकालाई समावेशी विकासको नमुना बनाउने अपेक्षा गरिएको छ । सबै वडामा समान रूपमा ९५ लाख बजेट उपलब्ध भएसँगै अब वडाको नेतृत्व, स्थानीय नागरिक र सरोकारवालाबीच सहकार्य गरेर विकास निर्माणका कामलाई प्रभावकारीरूपमा अगाडि बढाउने जिम्मेवारीको घडी सुरु भएको छ ।