बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

Author Logo..
२०८२ भाद्र १८ गते बुधवार

गएरातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए । त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ को पटराखल्लाका १५ घर डुबानमा परेका छन् । भीमदत्त–११ भुजेलामा पनि ५ घर डुबानमा परेका छन् । ‘दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्, उनीहरूलाई नजिककैको विद्यालयमा राखिएको छ’, डीएसपी बोहराले भने, ‘डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।’
पटराखल्लाका ५५ जना, उनीहरूका सरसामान र चौपायासमेत नजिकैको जमुना आधारभूत विद्यालयमा राखिएको उनले बताए । अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे गाडी आवागमन रोक लगाएको छ । डीएसपी बोहराले नदीमा पानीको सतह बढेर १ लाख ४० हजार २ सय ५० क्युसेक पुगेको बताए ।
नदीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ ।
सशस्त्रको बीओपीमा पस्यो बाढी

भारी वर्षाले कञ्चनपुरमा सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्ट (बीओपी) डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई वटा बीओपीमा बाढी पसेको हो । दोधाराचाँदनी नगरपालिका– ७ कञ्चनभोज र १० सुन्दरनगरमा रहेका बीओपीमा बाढी पसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । उनका अनुसारऽ जोगबुढा नदीको बाढी बीओपीमा पसेको हो ।
’सुन्दरनगर बीओपीमा कार्यरत सशस्त्र प्रहरीलाई ओमकार विद्यालय र कञ्चनभोज बिओपीका विस्थापित सशस्त्र प्रहरीलाई शहरी खोप केन्द्रमा सारिएको छझ, डीएसपी बोहराले भने । दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ र वडा नम्बर ३ को पटेराखल्लाका १५ परिवार बाढीले विस्थापित भएका छन् । ‘रामपुरे टापुका २५ परिवारका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ’, डीएसपी बोहराले भने, ‘पटेराखल्लाका १५ परिवारलाई जमुना आधारभूत विद्यालयमा सारिएको छ ।’
दार्चुलामा अटो खोलामा खस्यो, तीन जना बेपत्ता

दार्चुलामा यात्रुबाहक अटो खोलामा खस्दा तीन जना बेपत्ता भएका छन् । जिल्लाको नौगाड गाउँपालिका–५ सौँकेबजारस्थित नौगाड खोलामा म १ ह ११४८ नम्बरको अटो खसेको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, होपरीबाट गोकुलेश्वर आउँदै गर्दा भित्री सडकखण्डमा दुर्घटना भएको अटो खोलामा खसेको हो । बेपत्ता तीन जनाको पहिचान हुन नसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले खोजीका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको जानकारी दिए । अटोमा चालकसहित पाँच जना सवार थिए । एक जना घाइते एकलाई अस्पताल पुगाइएको छ भने प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार