बाँकेमा लम्पी स्किन रोगविरुद्धको २५ हजार डोज खोप आउँदै

Author Logo..
२०८२ भाद्र १८ गते बुधवार

राप्तीसोनारी, भदौ १७

पशु चौपायामा तीव्ररूपमा फैलिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि खोप २५ हजार माग गरिएको छ । आज (बुधबार) उक्त खोप जिल्लामा आइपुग्ने बताइएको छ ।
विगत केही सातादेखि बाँकेका विभिन्न पालिकामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । विशेषगरी राप्तीसोनारी गाउँपालिकाका वडा नम्बर १, २ र ६ मा बढी पशु चौपाया प्रभावित भएको जिल्ला पशु सेवा शाखाले जनाएको छ । यसअघि संक्रमण नियन्त्रणमा स्थानीय किसानले आफैंले घरेलु उपचार र न्यून औषधि प्रयोग गर्दै आएका थिए । तर, संक्रमण दिनानुदिन फैलिन थालेपछि जिल्लाभर खोप आपूर्ति गर्नुपर्ने माग बढेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी भोजबहादुर रावलका अनुसार बुधबारम्म खोप नेपालगन्ज आइपुग्ने क्रमिकरुपमा स्थानीय तहलाई वितरण गरिनेछ । उनका अनुसार, ‘संक्रमणको जोखिम हेरी प्राथमिकता तोक्ने गरी खोप पठाइनेछ । गाउँपालिकाका वडा कार्यालयमार्फत खोप वितरण गरी किसानलाई तत्काल खोप लगाइनेछ ।’ राप्तीसोनारी गाउँपालिकाको पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीका अनुसार, हालसम्म गाउँपालिकाभित्र सयौँ गाईगोरुमा रोगको लक्षण देखिएको छ । ‘वडा नम्बर १, २ र ६ मा बढी समस्या देखिएको छ । त्यसैले विज्ञ केन्द्रलाई चाँडै खोप पठाइदिन माग गरिएको हो,’ उनले बताए ।

लम्पीस्किन रोगले विशेषगरी गाई र भैंसीलाई असर गर्छ । यसले पशु चौपायामा छालामा दाना उठ्ने, ज्वरो आउने, दूध उत्पादन घट्ने, पेट दुख्ने जस्ता समस्या देखिन्छ । धेरै बिरामी परेमा पशुको मृत्यु समेत हुने खतरा हुन्छ । पछिल्लो समय बाँके मात्र नभई देशका अन्य जिल्लामा समेत यो रोग फैलिएको छ । खोप आउने खबरले जिल्लाका किसानमा केही राहत मिलेको छ । राप्तीसोनारीका किसान जनक थारु भन्छन्, ‘दुई वटा गाई बिरामी परेका छन् । खाना खान छोडेका छन्, दूधसमेत दिन छोडे । अब खोप आएपछि अरू चौपायालाई जोगाउन सकिन्छ भन्ने आशा पलाएको छ ।’
भेटेरिनरी अस्पतालका सूचना अधिकारी रावलका अनुसार बाँके जिल्लामा अहिले तत्काल २५ हजार डोज खोप आवश्यक छ । तर संक्रमणको दर हेर्दा भविष्यमा थप खोप माग गर्नुपर्ने अवस्था आउन सक्ने छ । उनले भने, ‘खोप उपलब्ध भएपछि स्थानीय तहको पशु सेवा शाखाले खोप अभियान सञ्चालन गर्नेछ। किसानले आफ्नो चौपायालाई लगाउनका लागि वडास्तरमै सुविधा पाउनेछन् ।’ जिल्लाभर खोप आपूर्ति भएपछि पहिलो चरणमा संक्रमण बढी देखिएका स्थानलाई प्राथमिकता दिइने र त्यसपछि अरू क्षेत्रमा विस्तार गरिने योजना बनाइएको छ ।

यसैबीच, पशु चिकित्सकहरूले किसानलाई रोग देखिएका पशुलाई अन्य चौपायाबाट टाढा राख्न, नियमित सफा गर्न, कीरा–मच्छर नियन्त्रण गर्न, र पौष्टिक आहार दिन सुझाव दिएका छन् । खोप नलगाएको पशुलाई रोग लाग्ने सम्भावना धेरै हुने भएकाले खोप अभियानमा सक्रिय सहभागी हुन किसानलाई आग्रह गरिएको छ । आज खोप उपलब्ध भएपछि बाँकेमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा केही राहत हुने स्थानीयवासीले आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार