नेपालगन्ज र कोहलपुर आउने जुम्ली स्याउ बाटोमै रोकिए

Author Logo..
२०८२ भाद्र १८ गते बुधवार

कोहलपुर, भदौ १६

जुम्लाबाट नेपालगन्ज र कोहलपुर आउने स्याउ बोकेका मालवहाक ट्रकहरु बाटोमै रोकिएका छन् । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत शुभकालीका–१ को गगने खोलामा पहिरो गएपछि तीन दिनदेखि सडक अवरुद्ध हुँदा २० वटा मालवाहक ट्रकमा लोड भएका स्याउ कुहिने जोखिममा परेका छन् ।
स्याउ बोकेका मालवहाक ट्रकहरु भदौ १४ गते नेपालगन्जका लागि हिँडेका थिए । अहिले ति ट्रक गन्तव्यसम्म पुग्न नसकी बाटोमै थन्किएका छन् । प्रहरी चौकी नाग्मा कालीकोटका अनुसार १४ गते ८, १५ गते ११ र १६ गते एक गरी जम्मा २० वटा ट्रक अलपत्र परेका छन् । ‘सडक अवरुद्ध हुँदा नेपालगन्ज, कोहलपुरसहितका बजारमा पठाउने स्याउ बाटोमै रोकिएका छन्,’ प्रहरी सहायक निरीक्षक (असई) यम शर्माले जानकारी दिए । जुम्लाको हिमा गाउँपालिका–३ का किसान गोपाल रोकायाले प्रत्येक वर्ष सडक अवरुद्ध हुँदा किसान र व्यापारी घाटामा पर्ने बताएका छन् । ‘यो वर्ष उत्पादन कम भएकाले स्याउको मूल्य बढ्ने अपेक्षा गरेका थियौं, तर समयमै बजार पुर्‍याउन नसक्दा घाटा बेहोर्नुपर्ने देखिएको छ,’ उनले भने ।

व्यापारी हरिसिंह नेपाली भन्छन्, ‘हरेक वर्ष निर्यातको बेलामा बाटो अवरुद्ध हुन्छ । यसपालि पनि करोडौंको नोक्सानी हुने देखिन्छ ।’ ट्रकमा चार हजार केजी स्याउ लोड गरेर सुर्खेत–नेपालगन्जतर्फ निस्किएका कालीबहादुर रोकाया भने भन्छन्, ‘सडक नखुले बजारसम्म पुर्‍याउनै गाह्रो भएको छ ।’ जुम्लामा यस वर्ष करिब १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ । असिनाले करिब पाँच लाख बिरुवा क्षति भए पनि बाँकी उत्पादन बजारमा पुर्‍याउने अपेक्षा थियो । जिल्लाको ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ । किसानले बगैंचामै प्रतिकेजी ७० रुपैयाँ मूल्य तोकेका छन् ।
तर अहिले सडक बन्द हुँदा नेपालगन्जसहित सुर्खेत, काठमाडौं, पोखरा, धनगढी, कैलाली, चितवन र बुटवलका बजारमा पुग्ने स्याउ बाटोमै कुहिने अवस्था छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले गगने खोलामा खसेको ठूला ढुंगा ब्रेकरले फुटाउन नसकिएको र ब्लाष्टिङ गरेर मात्र सडक खुलाउने तयारी भइरहेको बताए । उनले भने, ‘कालीकोट प्रहरी र सेनासँग समन्वय गरेर ब्लाष्टिङको तयारी भएको छ, सडक तत्काल खोल्न नसके बजार आपूर्ति थप प्रभावित हुन्छ ।’

यता, जुम्ली स्याउ सहजै बजारमा पुर्‍याउन सांसदहरूले समेत तत्काल सडक खोल्न दबाब दिइरहेका छन् । तर, अहिले मुगु, डोल्पा, हुम्ला र कालीकोटबाट आएका सयौं यात्रु पनि बाटोमै अलपत्र छन् । महिलादेखि बालबालिका, ज्येष्ठ नागरिक र अपांगसमेत पीडामा परेका छन् । कोहलपुर र नेपालगन्जका सहरमा पुग्नै लागेको जुम्ली स्याउ फेरि बाटोमै रोकिँदा किसान र व्यापारी मात्र होइन, उपभोक्ता समेत निराश भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार