कोहलपुर, भदौ १६
नेपालगन्ज विमानस्थल सोमबार बिहानै असामान्य देखिन्थ्यो । यात्रुहरूको भीड टर्मिनलभित्र मात्र होइन, बाहिरसम्म फैलिएको थियो । झोला–बोरा बोकेका महिला, हातमा टिकट च्यापेका युवा, बिरामी बोकेर आएका आफन्त सबैको अनुहारमा एउटै चिन्ता, ‘आज पनि जहाज उड्ला कि नउड्ला ?’
तर घोषणा स्पीकरबाट सुनियो, ‘मौसम प्रतिकूल भएकाले बाजुरा, मुगु र हुम्लातर्फ हुने सबै उडान रद्द गरिएको छ ।’ केही क्षण स्तब्ध बनेका यात्रुहरू एकाएक निराशाको लहरमा डुबे । नेपालगन्जदेखि कर्णालीका हुम्ला, मुगु र सुदूरपश्चिमको बाजुरा हवाई मार्गमा नियमित हुने दर्जनौँ उडान लगातार दोस्रो दिन पनि ठप्प हुँदा दुर्गम जीवन नै रोकिन पुगेको थियो । हुम्ला सिमकोटका धनबहादुर रोकाय छोराको उपचारका लागि काठमाडौँ पुग्नुपर्ने बाध्यता बोकेर नेपालगन्ज आएका थिए । तीन दिनदेखि उनी विमानस्थल धाउँदै छन्, तर जहाज उडेको छैन । ‘बच्चा बिरामी छ, समयमै डाक्टर देखाउन पाए हुन्थ्यो,’ उनले निराश स्वरमा भने । उनका आँखामा थकान मात्र थिएन, असहायताको पीडा पनि थियो ।
त्यस्तै, मुगुकी मैना शाही आफ्नै गाउँ जान टिकट लिएर तयारीसहित नेपालगन्ज आएकी थिइन् । तर मौसमको बेइमानीले उनको सपना अधुरै रह्यो । उनले भनिन्, ‘पैसा खर्च गरेर टिकट काटेकी थिएँ । अब त खर्च पनि सकिँदैछ, कार्यक्रम पनि छुट्दैछ ।’ नेपालगन्जदेखि बाजुरा, मुगु र हुम्ला पुग्ने बाटो मुख्यतः आकाशै हो । सडक भए पनि धेरै ठाउँमा पक्की छैनन् । त्यसैले दैनन्दिन जीवनदेखि स्वास्थ्य उपचार, शिक्षा, व्यापार, सरकारी कामकाजसम्म हवाई यात्रामै निर्भर छ । जहाज नउड्दा गाउँमा बस्ने आम नागरिकदेखि व्यापारीसम्म सबै प्रभावित हुन्छन् । उडान रोकिँदा सबैभन्दा ठूलो पीडा बिरामीले भोग्छन् । बाजुरा, हुम्ला र मुगुमा सामान्य अस्पताल भए पनि जटिल उपचार सम्भव छैन । त्यसैले गम्भीर बिरामी नेपालगन्ज वा काठमाडौँ ल्याउनुपर्छ । नियमित जहाज उपलब्ध नभए हेलिकोप्टर चार्टर गर्ने विकल्प हुन्छ, तर त्यसमा लाखौं खर्च लाग्छ । नेपालगन्ज मेडिकल कलेजका चिकित्सकहरू भन्छन्, ‘प्रत्येक महिनामा हिमाली जिल्लाबाट दुई दर्जनभन्दा बढी बिरामी आइपुग्छन् । अहिले उडान रोकिने क्रम जारी रह्यो भने कतिपय बिरामीलाई जीवन–मरणको प्रश्न उठ्छ ।’
नेपालगन्ज विमानस्थलमा यी सबै पीडाहरू एकैसाथ देखिन्छन् । कतिपय यात्रु कुर्सीमा निदाएका छन्, कतिले खाना किनेर टर्मिनलमै बसेका छन् । बाहिरका होटल र लज भरिएका छन् । लामो बाटो हिँडेर आएका यात्रु फेरि फर्कन सक्दैनन्, नेपालगन्जमै खर्चिलो जीवन धान्न बाध्य छन् । ‘गाउँ फर्किने बाटो छैन, जहाज पनि उड्दैन । अब के गर्ने ?’ भन्ने प्रश्न उनीहरूको मुखमा दोहोरिन्छ । उडान किन रोकिन्छ भन्ने प्रश्न पनि उतिकै महŒवपूर्ण छ । नेपालगन्जदेखि हुम्ला र मुगु जाने आकाश मार्ग सामान्यभन्दा जटिल छ । उचाइमा अवस्थित सिमकोट र गमगढी विमानस्थल वरिपरि उच्च पहाडले घेरेका छन् । दृश्यता न्यून हुँदा वा बादलले ढाक्दा जहाज अवतरण गर्न सक्दैन । नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख सुमनप्रसाद चौधरी भन्छन्, ‘हवाई यात्रा यात्रुको जीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले मौसम अनुकूल नभएसम्म जहाज उडाउन सकिँदैन ।’ मौसम खराबीका कारण नियमित उडान हुन नसकेको उनी बताउँछन् ।
तर समस्या भने यतिमै सीमित छैन । हरेक वर्ष मनसुन सुरु भएलगत्तै वा जाडोयामको हिउँपछाडि उडान स्थगित हुने क्रम दोहोरिन्छ । यद्यपि सबै निराशाभन्दा पर, आशा अझै बाँकी छ । मौसम खुल्नेबित्तिकै जहाज फेरि उड्नेछ भन्ने विश्वास यात्रुहरूले पालेका छन् । नेपालगन्ज विमानस्थलका एकजना सुरक्षाकर्मीले पनि मंगलबार मौसममा सुधार आए उडान हुन सक्ने बताए । त्यसपछि क्रमशः उडान सुचारु हुने अपेक्षा गरिएको छ । जुम्ला र डोल्पामा पनि उडान अनियमित भएको छ । नियमित हुने सबै उडान हुन सकेका छैनन् ।
राजसंस्था पुनःस्थापना आन्दोलनको कार्यबाहक संयोजकमा धवलशमशेर
काठमाडौं । राजसंस्था पुनःस्थापनाको आन्दोलनको कार्यबाहक संयोजक राप्रपा महामन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद धवलशमशेर राणालाई दिइएको छ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफू देशबाहिर रहेकाले उक्त जिम्मेवारी राणालाई दिएका हुन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि आन्दोलनको कार्यबाहक संयोजक राणालाई दिएको जानकारी दिए । ‘म देशबाहिर रहुञ्जेल, मेरो उपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यबाहक संयोजकको रूपमा आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणालाई अख्तियारी दिएको छुँ,’ सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चैत १५ गते तीनकुने घटनापछि राजसंस्थावादीहरूमा मतभिन्नता छ । तीनकुने घटनामा राणाविरूद्ध ज्यान मार्ने उद्योग र राज्यविरूद्धको अपराधमा मुद्दा विचाराधीन छ । सोही घटनापछि राजसंस्था पुनःस्थापनाको आन्दोलन सेलाएको छ ।