भारतीय बिरामी नेपालगन्ज किन आउँछन् भन्ने प्रश्नमा उत्तर स्पष्ट छ, ‘उपचारमा विश्वास, गुणस्तरीय सेवा र कम खर्च ।’ नेपालगन्जमा करिब २० हजार रुपैयाँमा हुने शल्यक्रिया भारतमा ६० हजारभन्दा बढी पर्छ । खर्चमा यस्तो ठूलो अन्तर हुनु बिरामीहरूको लागि ठूलो राहत हो ।
कोहलपुर, भदौ १५
भारतको उत्तर प्रदेशको खैरितराइकी सादिया बेहनाको परिवारमा केही महिनादेखि अनौठो तनाव थियो । कानमा समस्या देखिएपछि उनी लगातार अस्पताल धाउन थालेकी थिइन् । बहराइचका अस्पतालहरूमा पटकपटक उपचार गराउँदा पनि सुधार भएन । डाक्टरले दिएको औषधि खाँदा केही समय सहज भएजस्तो लागे पनि समस्या फेरि उस्तै गरी देखा पर्थ्यो । यसरी अस्पताल चहार्दा उनले करिब २० देखि २२ हजार रुपैयाँ सकिसकेकी थिइन् । तर, उपचारले निको पारेन ।
परिवार निराश थियो । उपचारकै लागि ठूलो रकम खर्चिसक्दा पनि परिणाम शून्य भएपछि अब के गर्ने भन्ने प्रश्न उब्जिएको थियो । त्यहीबेला गाउँकै साथीले सुझाव दिए, ‘नेपालगन्जमा गएर हेर्नुस्, त्यहाँका डाक्टरले राम्रो उपचार गर्छन् रे ।’ सुरुमा परिवारका सदस्यहरूलाई अलि अनौठो लाग्यो । किनभने भारतमै ठूल्ठूला अस्पताल हुँदा नेपाल गएर उपचार खोज्ने कुरा उनीहरूलाई अकल्पनीय जस्तै लागिरहेको थियो । तर अन्ततः उनीहरूले नेपालगन्ज जाने निर्णय गरे ।
नेपालगन्जको फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवामा पुगेपछि सादियाले अनुभव गरिन् कि यहाँको सेवा फरक छ । डाक्टरले ध्यानपूर्वक परीक्षण गरे, समस्या विस्तृतरूपमा बुझ्न समय दिए । भारतमा अनुभव गरेको भन्दा एकदमै भिन्न व्यवहारले उनलाई आशा दिलाए । उनले भनिन्, ‘यहाँ आउनासाथ मलाई लाग्यो, अब मेरो रोग निको हुन्छ । डाक्टरहरूले विस्तृत परीक्षण गरेर सजिलो भाषामा समस्या बुझाइदिनुभयो । भारतका धेरै ठाउँमा त्यस्तो पाइन्न ।’ सादियाको कथा एउटा प्रतिनिधि कथा मात्र हो । यस्तै भोगाइ भर्खरै नानपाराकी गायत्री देवीले पनि गरिन् । उनले पनि आफ्ना कानसम्बन्धी समस्या लिएर नानपारा र बहराइचका अस्पतालहरू धाइन् । तर उपचारले अपेक्षित सुधार ल्याएन । खर्च भने थुप्रियो । अन्ततः उनले पनि नेपालगन्जको बाटो समाइन् । केही दिनमै उनले सुधार अनुभव गरिन् । अहिले उनी निको भएकी छिन् । गायत्री देवी भन्छिन्, ‘नेपालगन्जमा उपचार गर्दा मलाई साँच्चै राहत मिल्यो । यहाँ खर्च पनि भारतको तुलनामा धेरै कम पर्छ ।’
यी कथाहरूले एउटा गहिरो सन्देश दिन्छन्, ‘नेपालगन्ज सीमापारका भारतीय बिरामीहरूको विश्वासिलो स्वास्थ्य गन्तव्य बन्दै गएको छ ।’ फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवामा दैनिक औसत तीन सय बिरामी आउँछन् । तीमध्ये झन्डै ६० प्रतिशत भारतीय नागरिक हुने गरेका छन् । गोण्डा, लखिमपुर, रुपैडिया, नानपारा, बहराइचलगायतका क्षेत्रबाट भारतीय नागरिक यहाँ पुग्छन् । फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका डाक्टर अन्नदकुमार झा भन्छन्, ‘हामीसँग आउने बिरामीमध्ये आधाभन्दा बढी भारतीय हुन्छन् । उनीहरूलाई नेपालगन्जको सेवा र खर्चले आकर्षित गरेको छ । हाम्रो मुख्य प्रयास नै गुणस्तर कायम राखेर बिरामीलाई सहज बनाउन हो ।’
भारतीय बिरामी नेपालगन्ज किन आउँछन् भन्ने प्रश्नमा उत्तर स्पष्ट छ, ‘उपचारमा विश्वास, गुणस्तरीय सेवा र कम खर्च ।’ नेपालगन्जमा करिब २० हजार रुपैयाँमा हुने शल्यक्रिया भारतमा ६० हजारभन्दा बढी पर्छ । खर्चमा यस्तो ठूलो अन्तर हुनु बिरामीहरूको लागि ठूलो राहत हो । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउट रिच इन्चार्ज भिसनकुमार चौधरीका अनुसार समुदायसम्म पुगेर उपचार दिने गरिएको छ । जहाँ नागरिकको उल्लेख्य सहभागिता हुन्छ । ‘हामी बिरामीलाई ध्यानपूर्वक सुन्छौं,’ उनले भने, ‘भारतका ठूला अस्पतालमा पनि कतिपय अवस्थामा डाक्टरसँग बिरामीलाई विस्तृत कुरा गर्न पाइँदैन । यहाँ भने उपचार गर्ने शैलीले नै विश्वास जगाउँछ ।’ उनी भन्छन्, ‘भारतीय बिरामीले हामीमाथि देखाएको विश्वास ठूलो उपलब्धि हो । यसलाई कायम राख्न अझ गुणस्तरीय उपचार आवश्यक छ ।’ भारतका ठूला सहरका निजी अस्पतालमा उपचार अत्यधिक महँगो हुन्छ । कतिपय अवस्थामा पैसाको आधारमा मात्र उपचार हुने हुँदा सामान्य वर्गका बिरामी निराश बन्छन् । तर नेपालगन्जमा भने अपेक्षाकृत सस्तो मूल्यमा उपचार पाइने भएकाले सीमावर्ती भारतीयहरूलाई सहज भएको छ ।
यो प्रवृत्तिले नेपालगन्जको सामाजिक र आर्थिक जीवनलाई समेत असर पारेको छ । बिरामीसँगै उनका परिवार पनि नेपालगन्जमा बस्ने भएकाले होटेल र लजहरूमा चाप बढेको छ । खानापानाका रेस्टुरेन्टदेखि यातायात र पसलसम्ममा यसको प्रभाव देखिएको छ । यस्तै, फार्मेसी र डायग्नोस्टिक सेन्टरहरूमा पनि लाभ पुगेको छ । स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर बढ्नुका साथै यहाँको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ ।
नेपाल–भारतबीचको खुला सीमा पनि यसमा सहयोगी तत्व हो । भारतीय बिरामीहरूलाई भिसाको झन्झट हुँदैन । उनीहरू सिधै नेपालगन्ज प्रवेश गरेर उपचार गर्न सक्छन् । यसले उनीहरूको समय र खर्च दुवै बचाएको छ । भारतीय बिरामीहरूको अनुभव सुन्दा एउटा साझा कुरा भेटिन्छ, ‘यहाँ विश्वास जगाउने वातावरण छ ।’ उनीहरू भन्छन्, नेपालगन्जका डाक्टरहरूले सुन्ने संस्कार राख्छन् । बिरामीलाई ध्यानपूर्वक बुझ्छन् र उपचारमा कुनै पनि कुरामा ढिलासुस्ती गर्दैनन् । औषधि र परीक्षणमा पनि अत्यधिक मूल्य लिने चलन छैन । बहराइचकै राजेन्द्रप्रसाद गुप्ता आफ्नो अनुभव सुनाउँछन्, ‘मेरो छोराको कानको अपरेशन भारतमा गर्न ८० हजार लाग्छ भनेर भनिएको थियो । तर नेपालगन्जमा अप्रेसनसहित अन्य खर्च २५ हजारमै भयो । नतिजा पनि राम्रो आयो त्यसैले हामीलाई नेपालगन्जकै उपचार सस्तो र विश्वासिलो लाग्यो ।’
भारतीय बिरामीको चाप बढेसँगै नेपालगन्जका अस्पतालहरूले सेवा विस्तारमा ध्यान दिएका छन् । ब्रिनोट अस्पतालले कान, नाकसम्बन्धी शल्यक्रियामा विशेषता विकास गरेको छ । अन्य निजी अस्पतालहरूले पनि कार्डियोलोजी, न्युरोलोजी, स्त्रीरोग, प्रसूति सेवा विस्तार गरेका छन् । अस्पताल व्यवस्थापनले भारतीय बिरामीको आवश्यकतालाई ध्यानमा राखेर भाषा र व्यवहारमै सहज वातावरण बनाएका छन् । यसबाहेक नेपालगन्ज आउने बिरामीहरूका कारण स्वास्थ्य पर्यटनको नयाँ सम्भावना पनि देखिएको छ । यदि यसलाई योजनाबद्धरूपमा विकास गर्न सकियो भने नेपालगन्ज केवल सीमावर्ती मात्र होइन, सम्पूर्ण दक्षिण एसियाकै उपचार केन्द्र बन्न सक्ने आधार देखिन्छ ।
नेपालगन्जका अस्पतालहरूले सीमापारका भारतीयहरूको विश्वास जित्दै गएको यो समय केवल स्वास्थ्य सेवाको कुरा मात्र होइन, सामाजिक–आर्थिक सम्बन्धलाई मजबुत बनाउने अवसर पनि हो । सीमापारबाट आउने प्रत्येक बिरामी उपचारसँगै नेपालगन्जको अनुभव लिएर फर्कन्छन् । त्यही अनुभव अर्को बिरामीलाई यहाँ ल्याउने कारण बन्छ । सादिया बेहना र गायत्री देवीजस्तै सयौं भारतीय बिरामीको कथा एउटै निष्कर्षमा पुग्छ नेपालगन्ज विश्वासिलो छ, यहाँ उपचार सस्तो छ र बिरामीलाई प्राथमिकतामा राखिन्छ । यसैले, नेपालगन्ज केवल बाँके जिल्लाको मात्र होइन, सम्पूर्ण सीमावर्ती भारतकै लागि स्वास्थ्य उपचारको केन्द्र बन्दै गएको छ ।
किन नेपालगन्ज तिर आकर्षित भारतीय ?
– भारतीय बिरामी नेपालगन्ज आउनुको प्रमुख कारण विश्वास, गुणस्तरीय उपचार र सस्तो खर्च हो ।
– नेपालगन्जमा करिब २० हजार रुपैयाँमा हुने शल्यक्रिया भारतमा कम्तीमा ६० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । उपचारमा हुने यस्तो तीन गुणा फरकले मात्र होइन, यहाँका डाक्टरहरूको ध्यानपूर्वक उपचार गर्ने शैलीले पनि बिरामीहरूलाई आकर्षित गरेको देखिन्छ ।
– नेपालगन्जका स्वास्थ्य व्यवसायीहरूका अनुसार, भारतका ठूला सहरका निजी अस्पतालले उपचारलाई व्यावसायिक दृष्टिले मात्रै हेर्ने गरेको गुनासो भारतीय बिरामीहरूले गर्छन् । जबकि नेपालगन्जमा गुणस्तरको उपचार, अपेक्षाकृत सस्तो मूल्य र नजिकको दूरीले गर्दा सहज भएको छ ।
सामाजिक–आर्थिक प्रभाव
– नेपालगन्जमा दैनिक सयौं भारतीय बिरामी आउने क्रमले यहाँको स्वास्थ्य क्षेत्रमा मात्र होइन, सामाजिक र आर्थिक गतिविधिमा पनि प्रभाव पारेको छ ।
– होटल व्यवसायमा वृद्धि : उपचारका लागि आउने बिरामीसँगै उनका परिवार पनि नेपालगन्ज बस्ने भएकाले होटल, लज, रेस्टुरेन्टहरूमा ग्राहक बढेका छन् ।
– फार्मेसी र डायग्नोस्टिक सेन्टरमा लाभ : बिरामीले औषधि, परीक्षण र स्क्यानिङका लागि नेपालगन्जमै प्रयोग गर्ने भएकाले यहाँका व्यवसायलाई फाइदा पुगेको छ ।
– रोजगारीका अवसर : बिरामीको चापसँगै स्वास्थ्यकर्मी, नर्स, प्राविधिक, ड्राइभरदेखि होटल व्यवसायीले रोजगारी पाएका छन् ।
नेपाल–भारतबीचको खुला सिमानाले यसलाई अझ सहज बनाएको छ । भारतीय बिरामीहरूलाई भिसा लिनुपर्ने झन्झट छैन, सिधै नेपालगन्ज प्रवेश गरेर उपचार गर्न सक्छन् ।
भारतीय बिरामीको अनुभव
नेपालगन्ज पुगेका धेरै भारतीय बिरामीसँग कुरा गर्दा उनीहरूको अनुभव लगभग समान देखिन्छ ।
– यहाँको उपचार समयमै र सजिलै पाइन्छ ।
– डाक्टरले बिरामीलाई सुन्ने र बुझ्ने संस्कार राख्छन् ।
– खर्च भारतभन्दा धेरै कम पर्छ ।
– औषधि र परीक्षणमा पनि अत्यधिक मूल्य लिने चलन छैन ।