नरैनापुरमा देशकै बढी औलो, नियन्त्रण चुनौतीपूर्ण

Author Logo..
२०८२ भाद्र १४ गते शनिवार

नरैनापुरमा देशकै बढी औलो, नियन्त्रण चुनौतीपूर्ण

नेपालगन्ज, भदौ १३

बाँके जिल्लाको नरैनापुर गाउँपालिका औलो (मलेरिया) रोगले सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखिएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार देशभरका सात सय ५३ स्थानीय तहमध्ये नरैनापुरमा मात्रै सबैभन्दा धेरै औलोका बिरामी पाइएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा दुई सय ४६ जनामा औलो देखिएकोमा नरैनापुरमा मात्रै एक सय ८५ जना बिरामी भेटिएका छन् । अघिल्लो वर्ष यो संख्या एक सय ३२ थियो । यसरी औलोका बिरामी हरेक वर्ष बढ्दै जाँदा यहाँ रोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार औलो नियन्त्रणका लागि नरैनापुरमा रगत परीक्षण अभियानका रूपमा अघि बढाइएको छ । साथै, स्थानीयलाई सचेत बनाउँदै झुल प्रयोग गर्न प्रेरित गर्ने कामलाई पनि प्राथमिकता दिइएको छ ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहम्मद शाहले औलो नियन्त्रणलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको बताए । उनका अनुसार प्रभावित वडामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने गाउँपालिका नेतृत्व पनि प्रत्यक्ष रूपमा नियन्त्रण गतिविधिमा संलग्न भएको छ । हालै भारतको मुम्बईबाट फर्केका नरैनापुर–५ का १७ वर्षीय किशोरलाई समेत औलो देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उच्च ज्वरो, टाउको दुख्ने, जाडो लाग्ने जस्ता लक्षण देखिएपछि गरिएको परीक्षणमा उनको शरीरमा औलो परजीवी भेटिएको हो ।
नेपाल सरकारले सन् २०३० सम्म देशलाई औलो मुक्त बनाउने लक्ष्य लिएको छ । तर बाँकेमा बर्सेनि बिरामी बढ्दै गएकाले जोखिम अझै कायम रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । सामान्यतया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजीवीका विभिन्न जातबाट सर्ने गर्छ । नेपालमा मुख्यतया प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम भेटिने भएकाले रोग नियन्त्रणका प्रयास अझै मजबुत बनाउनु जरुरी देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार