मुलुकलाई सम्वृद्ध बनाउन नारी सशक्तीकरण जरुरी छः मन्त्री तिमिल्सिना

Author Logo..
२०८२ भाद्र १ गते आइतवार

नेपालगन्ज-०२ भदौ:-  लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सम्वृद्ध देश निर्माणका लागि महिला सशक्तीकरण जरुरी रहेको बताएका छन् ।

नारी विकास केन्द्रको ५० औं स्वर्णजयन्तीको अवसरमा आइतवार नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले मुलुकलाई सम्वृद्ध बनाउन नारी सशक्तीकरण अहिलेको आवश्यकता रहेको बताए । ‘अहिलेपनि हाम्रो समाज पितृसत्तामा विश्वास गर्ने खालको छ उनले भने–‘नारी र पुरुष समान हुन भन्ने सामाजिक चेतना जागृत नभएसम्म मुलुकको विकास हुँदैन ।’

नारी विकास केन्द्रले महिला सशक्तिकरणमा अत्यन्तै महत्वपूर्ण कार्य गरेको बताए । थुप्रै चुनौतीका चाङहरु पार गरेर केन्द्र यहाँसम्म आइपुगेको भन्दै उनले त्यसका निमित्त नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुप्रति धन्यवाद दिए । विगत ५० वर्षको योगदान, चुनौतीहरु र उपलब्धीहरुको समिक्षा र तीज मिलन कार्यक्रम समेत राखिएको स्वर्णजयन्तीमा मन्त्री तिमिल्सिनाले हिंजोको तुलनामा अहिले नारीहरु धेरै अगाडि बढिसकेको उल्लेख गरे ।

‘संविधानले नै महिलाहरुलाई थुप्रै अवसर र अधिकारहरु दिइसकेको छ उनले भने–‘यसलाई कार्यान्वयन गर्दै महिलाको आर्थिक, राजनीतिक तथा अन्य निकायमा सम्मानजनक सहभागिता सुनिश्चित गरिनुपर्छ । ’ केन्द्रका कार्यबाहक अध्यक्ष शीला शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य मिना श्रेष्ठ, पूर्वमन्त्री प्रेमबहादुर भण्डारी, बाँकेका सिडिओ धर्मराज जोशी, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइँ लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार