पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की

Author Logo..
२०८२ भाद्र २८ गते शनिवार

 

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार राति ९ बजे शीतल निवासमा शपथग्रहण लिएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अन्तरिम सरकारको नेतृत्वको जिम्मेवारी दिँदै नियुक्त गरेका हुन् ।

लामो समयदेखि जारी राजनीतिक अन्योलका बीच शुक्रबार दिउँसो मात्र सहमति जुटेपछि कार्कीको नाम अन्तिमरूपमा अगाडि सारिएको हो । शपथग्रहणलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् घोषणा गर्ने तयारी गरिएको स्रोतले जनाएको छ । सोही अवसरमा पहिलो मन्त्रिपरिषद् बैठक पनि शीतल निवासमै बस्ने कार्यक्रम तय गरिएको छ ।

यसै क्रममा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गर्ने निर्णयसमेत गरेका छन् । राजनीतिक दलहरुले भने संसद्मार्फत नै निकास खोज्नुपर्ने सुझाव दिएका थिएल। सभामुख, राष्ट्रिय सभाका अध्यक्षदेखि दलका शीर्ष नेताहरुले संविधानको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिएका थिए । तर जेन–जी आन्दोलनतर्फबाट सरकार प्रमुखका लागि प्रस्तावित कार्कीले वर्तमान संसद् कायम राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडान राखेपछि अन्ततः संसद् विघटनको बाटो रोजिएको हो ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन शाहले पनि सहमतिका लागि न्यूनतम आधार संसद् विघटन नै हुने बताएका थिए । सोही धारणालाई समर्थन गर्दै राष्ट्रपति पौडेलले अन्तरिम सरकारको घोषणा गरेका हुन् । कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारले निकट भविष्यमा देशलाई निर्वाचनतर्फ लैजाने तयारी गर्ने बताइएको छ । पहिलो मन्त्रिपरिषद् बैठकले सरकारको प्राथमिकता, कार्यसूची र आगामी राजनीतिक कदमबारे स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ ।

नेपालको इतिहासमै पहिलोपटक महिला प्रधानमन्त्री बनेकी कार्की यसअघि सर्वोच्च अदालतको नेतृत्व गर्ने पहिलो महिला प्रधानन्यायाधीशसमेत रहिसकेकी थिइन् । न्यायक्षेत्रमा सक्रिय रहँदै उनले भ्रष्टाचारविरुद्ध कठोर निर्णय गर्ने न्यायाधीशको रूपमा पहिचान बनाएकी थिइन् । अहिले मुलुक असामान्य अवस्थामा पुगेको बेला उनलाई प्रधानमन्त्री बनाउने सहमति हुनु महिला नेतृत्वको सशक्त प्रतीकका रूपमा हेरिएको छ । राजनीतिक अस्थिरता चिर्न बनेको अन्तरिम सरकार कसरी अघि बढ्छ भन्ने चासो बढेको छ। तर पहिलो महिला प्रधानमन्त्रीको रूपमा कार्कीको जिम्मेवारीलाई ऐतिहासिक मोडका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार